तपाईँ सुन्दै हुनुहुन्छः

विपन्न तथा आर्थिक स्तर कमजोर भएका नागरिकहरूका लागि ४० बेडको आइसोलेसन तयार 

सुनसरी । इटहरी–१० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्स्टिच्युट भवनमा अक्सिजनसहितको ४० बेडको आइसोलेसन तयार भएको छ ।
उद्योग वाणिज्य सङ्घ इटहरीको नेतृत्व तथा नेपाल प्रेस युनियन सुनसरी र युवा उद्यमी मञ्च सुनसरीको सहकार्यमा ४० बेडको आइसोलेसन तयार गरिएको हो ।
उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेलले इटहरीमा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भएपछि आफूहरूले खाना, बस्न तथा अक्सिजनसहितको निःशुल्क ४० बेडको आइसोलेसन तयार गरिएको बताउनुभयो ।
आइसोलेसनमा गरिब, विपन्न तथा आर्थिक स्तर कमजोर भएका नागरिकहरूलाई राखिनेछ र निःशुल्क खानासहित उपचार गरिने उहाँले बताउनुभयो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरी, प्रहरी प्रमुख एसपी कमल थापा, सशस्त्र प्रहरी बल सुनसरीका एसपी माधव पौडेलसहितको टोलीले अनुगमन समेत गरेको छ ।
अनुगमनपछि प्रजिअ ढकालले पूर्वमै पहिलो पटक यस्ता संस्थाबाट आइसोलेसन तयार हुनु सकारात्मक पक्ष रहेकाले सञ्चालनका लागि स्वीकृति दिएको बताउनुभयो ।
अधिकारीले अग्र भागमा खटिने पत्रकारहरूमा जोखिम भएकाले संक्रमण भएका पत्रकारहरू यहाँ आएर बस्न सक्नेछन्, त्यसका लागि प्रेस युनियनले समन्वय गर्नेछ । गत वर्ष जिल्लाका पत्रकारहरूमा कोरोना बिमा गरेको स्मरण गर्दै अधिकारीले भने, यो आइसोलेसन पत्रकारहरूका लागि पनि लक्षित गरेर निर्माण गरिएको हो ।
उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेलको अध्यक्षतामा कमिटी समेत बनिसकेकाले केही दिनभित्रै आइसोलेसन सञ्चालनमा आउनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button