तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी मृत अवस्थामा फेला

महोत्तरी । महोत्तरीको सम्सीस्थित प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् ।
प्रहरी चौकी सम्सीमा कार्यरत प्रहरी जवान पर्सा जिल्लाको बौरामाई नगरपालिका १ का २५ वर्षीय जितेन्द्र साह मृत अवस्थामा फेला परेका हुन । प्रहरी चौकी सम्सीबाट करिब सात सय मिटर उत्तर पश्चिम खाली चौरमा रहेको आँपको बोटमा पासो लागेको अवस्थामा प्रहरी जवान साहको शव भेटिएको हो ।
ड्युटी सकेर राति सुतेका साहले के कति कारणले आत्महत्या गरे भन्ने अझै नखुलेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिनुभयो ।
धनुषाको ढल्केवरस्थित प्रहरी गणमा दरबन्दी भई विगत सात महिना देखि सम्सी प्रहरी चौकीमा कार्यरत साहको जेष्ठ ७ गते बिहे रहेको र बिहेकै लागि बिदा लिएर जाने तयारी रहे पनि मङ्गलवार बिहानै झुन्डिएको अवस्थामा शव फेला परेको हो ।
मृतक प्रहरी जवान साहको परिवारलाई खबर गरिसकिएको र परिवारका सदस्यहरु आएपछि शवलाई पोष्टमार्टन गर्न जलेश्वर लाने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button