तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार महासङ्घ जुम्लाको भवनमा ५ बेडको आइसोलेसन तयार

जुम्ला । नेपाल पत्रकार महासङ्घ जुम्लाले ५ बेडको आइसोलेसन तयार गरेको छ । जुम्ला सदरमुकाम खलङ्गास्थित महासङ्घले आफ्नै भवनमा ५ बेडको आइसोलेसन तयार गरेको हो । दोस्रो लहरको कोरोना संक्रमण दैनिक बढ्दै गएको र पत्रकारहरू लाई पनि संक्रमण हुन सक्ने भन्दै तत्काल ५ बेडको आइसोलेसन पुर्वतयारी गरेको नेपाल पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताउनुभयो ।
उहाँका अनुसार हाल सम्म जुम्लामा कार्यरत स्थानीय तथा राष्ट्रिय स्तरमा काम गर्ने  कुनै पत्रकारहरुलाई संक्रमण नभए पनि पत्रकारहरू सङ्क्रमणको उच्च जोखिममा रहेकोले गर्दा आइसोलेसन बनाइएको हो । तत्काल ५ बेडको आइसोलेसन तयार भए पनि पछि आवश्यकता अनुसार बढाउन सकिने छ ।
अध्यक्ष शाहीले भन्नुभयो, “जिल्लामा कार्यरत अधिकांश पत्रकार कोठा भाडामा बस्छन् । यद्दपी संक्रमित भइहालेमा पनि भाडाकै कोठामा बस्न सम्भव छैन । अस्पतालले अक्सिजन दिनुपर्ने संक्रमित बाहेक अरूलाई भर्ना लिदैन् । त्यसैले महासङ्घको आफ्नै भवनमा अक्सिजन आवश्यक नपर्ने सङ्क्रमितका लागि आइसोलेसन बनाइएको हो ।”
महासङ्घकै भवनमा बनाइएको छुट्टै आइसोलेसनले पत्रकारहरूलाई राहत मिल्ने अध्यक्ष शाहीको भनाई छ । सकभर कसैलाई संक्रमण नहोस् भए पनि उनीहरूको राहत उद्धार तथा व्यवस्थापनका लागि महासङ्घले विभिन्न निकायसँग समन्वय अघि बढ्ने समेत उल्लेख गर्नुभयो ।
पत्रकारहरुको साथमा पत्रकार महासङ्घ छ भन्ने महसुस गराउने गरी कोरोना महामारीमा काम गर्ने समेत अध्यक्ष शाहीको दाबी छ ।
महासङ्घको भवनमा आइसोलेसन बनाउनका लागि सामाजिक क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको अब्बल गैर सरकारी संस्था पेश नेपालले सामाग्री सहयोग गरेको हो ।  पत्रकार महासङ्घको अनुरोधलाई स्वीकार गर्दै आइसोलेसन निर्माणका लागि पेश नेपालले ५ वटा फाइबर सिरक, १० वटा डस्ना, ५ वटा सिरानी, ३० मिटर पिपि फर्म ५ वटा तन्ना,५ वटा बाटा,५ वटा जग, ५ वटा गिलास ५वटा बाल्टी र ५ वटा रुमाल गरी करिब ५० हजार बराबरको ९ प्रकारका सामाग्री उपलब्ध गराएको हो ।
जिल्ला स्थित पत्रकारहरूको राहतका लागि कोरोना महामारीबाट सुरक्षित रहन आइसोलेसन निर्माणका लागि थोरै सहयोग गरेको पेश नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले बताउनुभयो । महामारी सँगै अन्य समयमा पनि पत्रकार महासङ्घ सँग समन्वय सहकार्य गरी अघि बढ्ने समेत उहाँको भनाई छ ।
कर्णाली प्रदेशका १० वटा जिल्लाका महासङ्घ मध्य जुम्लाले पहिलो स्वागत योग्य कामका रुपमा आइसोलेसन तयार गरेको  हो । महासङ्घकै भवनमा ५ बेडको आइसोलेसन तयार भएपछि जुम्लाका पत्रकार खुसी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button