तपाईँ सुन्दै हुनुहुन्छः

खोटाङमा अटो रिक्सा दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते 

खोटाङ । खोटाङमा अटो रिक्सा दुर्घटनामा परी एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
मङ्गलवार जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको घोर्लेबाट बिरामी बोकेर प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी जाँदै गरेको लु १ स ०३५० नम्बरको अटो रिक्सा दुर्घटना हुँदा गम्भीर घाइते भएका जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका १३ वर्षीय गोकुल परियारको मृत्यु भएको हो । थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीले l रिफर गरेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजानेक्रममा परियारको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले बताउनुभयो ।
घोर्लेबाट चिसापानी जानेक्रममा सामुदायिक भवनडाँडाको तारेभीरमा अटो रिक्सा पल्टिँदा गोकुल सहित जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका चालक ३३ वर्षीय जीवन राई, उनकै ७ महिनाको छोरा जर्मन राई, घोर्लेका १६ वर्षीय मणिराम राई र ६३ वर्षीय रत्नबहादुर राई घाइते भएका थिए । अटो दुर्घटनामा चालक जीवन र गोकुल गम्भीर घाइते बनेका थिए ।
एम्बुलेन्समा हालेर धरान लैजानेक्रममा गोकुलको चतरामा पुगेपछि मृत्यु भएको हो । घाइतेमध्ये जीवन, जर्मन, गोकुल र रत्नबहादुरलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको थियो । अटो रिक्सा सडकको मोडमा ब्याक गरी घुमाउने क्रममा करिब ५/६ सय मिटर तल विस्टोंपा खोलामा पुगेको स्थानीयले बताएका छन् । घटना लगत्तै इलाका प्रहरी कार्यालय चिसापानी र इलाका प्रहरी कार्यालय सईको कमाण्डमा खटिएको प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button