तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमित खोज्दै घरदैलोमा स्वास्थ्यकर्मी 

सल्यान । जिल्लाको कुमाख गाउँपालिकाले कोरोना सङ्क्रमित खोज्न स्वास्थ्यकर्मीसँगै घरदैलोमा पुगी स्वाब सङ्कलन थालेको छ ।
भेरियन्ट सहितको कोरोना भाइरस सङ्क्रमण बढ्दै जान थालेपछि सङ्क्रमितको खोजी कार्य गर्न र उपचार गर्न स्वास्थ्यकर्मी सहितको टोली घरदैलोमा पुगी स्वाब सङ्कलन थालेको हो ।
गाउँपालिका अध्यक्ष सहितको स्वास्थ्यकर्मीको टोली कोरोना भाइरसको लक्षण देखिएका बिरामीको घरमा पुगी पिसिआर र एन्टिजेन परीक्षण गरिरहेको गाउँपालिका अध्यक्ष दिलमाया बुढाले बताउनुभयो ।
गाउँपालिकाको टाट्के, भितिवन, स्वीकोट पाखा, रागेचौ, जिमाली लगायतका दर्जन बढी टोलमा पुगी पिसिआर सङ्कलन गरिएको उहाँको भनाई छ ।
अध्यक्ष बुढाका अनुसार हालसम्म १ सय ४१ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइसकिएको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
सात वडा रहेको गाउँपालिकामा बुधवार दुई न वडामा सङ्कलन गरिने र ४ न वडा बाँकी रहेको उहाँले जनकारी दिनुभयो । उहाँले भन्नुभयो, कोरोना सङ्क्रमण बस्तिस्तरमा फैलन नपाओस् भनेर नै गाउँघरमै पुगी कोरोना परीक्षण गरिरहेका छौँ ।
घरदैलोमा पुगेर स्वाब सङ्कलन गर्नुका साथै कोरोना सङ्क्रमणबारे जनचेतना अभिवृत्ति गर्नुका साथै कोरोनाका लक्षणको सम्बन्धमा पनि जानकारी दिने गरेको अध्यक्ष बुढाको भनाई छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्तीले घरदैलो अभियानले पहिचान नभएका सङ्क्रमितको पहिचान गर्न र थप सङ्क्रमण रोकथाममा सघाउ पुर्‍याउने बताउनुभयो ।
उहाँले नागरिकलाई सचेत बनाउने र कोरोना भाइरस रोकथाम गर्न यस प्रकारको कार्यले सघाउने आफूँहरुको विश्वास रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button