तपाईँ सुन्दै हुनुहुन्छः

चौलागाईँका निधनमा पार्टीको आधा झण्डा झुकाइने

काठमाडौँ । नेकपा (एमाले) ले प्रदेशसभा सदस्य पशुपति चौलागाईँका निधनमा तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउन मातहत कमिटीलाई निर्देशन दिएको छ ।
उहाँको निधनमा केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयमा शोक पुस्तिका पनि राखिने छ ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार पार्टी केन्द्रीय कार्यालयको ढोकामा स्व.चौलागाईको तस्बिरमा माल्यार्पण गरी नेताहरूले आज अन्तिम श्रद्धाञ्जली दिनुभएको छ ।
साथै कार्यालयमा शोक पुस्तिकासमेत राखिएको छ ।
पार्टी केन्द्रीय सदस्य चौलागाईँको मङ्गलवार कोरोना सङ्क्रमणका कारण निधन भएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । चौलागाईं दोलखा ‘ख’ बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
उहाँ २०५६ सालको निर्वाचनमा दोलखा १ बाट र २०७० सालको संविधानसभा निर्वाचनमा  समानुपातिकबाट सांसद हुनुभएको थियो ।
विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहनुभएका चौलागाईँ भद्र, निष्ठावान् र  इमानदार नेता हुनुहुन्थ्यो ।  चौलागाईँकोे जन्म २०२० फागुन ५ गते दोलखा जिल्लाको काभ्रे गाउँमा भएको थियो ।
उहाँ हाल मध्यपुरथिमिमा बस्दै आउनुभएको थियो ।  पिता चन्द्रप्रसाद र आमा भक्तमायाको सन्तानका रुपमा जन्मनुभएका उहाँका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ ।
स्नातकोत्तर उहाँले २०३४ साल कात्तिक (तत्कालीन माले) बाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । उहाँले पटक पटक गरी छ महिना बन्दी जीवन बिताउनुभएको थियो ।
विगतमा शिक्षण पेसाको अनुभवसमेत सँगाल्नुभएका  चौलागाईँले भारत, बङ्गलादेश, श्रीलङ्का, चीन, थाइल्यान्ड, भियतनाम, इण्डोनेशिया, बेलायत, अमेरिका, फ्रान्स, जर्मनीलगायत धेरै देशको भ्रमण गर्नुभएको थियो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले उहाँको निधनबाट शोक वक्तव्य जारी गरी पार्टीले एउटा असल र निष्ठावान् नेतालाई गुमाउन पुगेको जनाउँदै राजनीतिक योगदानलाई सदा पार्टीले सदा स्मरण गर्ने बताउनुभएको छ ।
पार्टीका नेता माधवकुमार नेपालले पनि शोक वक्तव्य जारी गरी उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button