तपाईँ सुन्दै हुनुहुन्छः

ट्राफिक प्रहरीद्वारा बढी भाडा लिने २ जना पक्राउ 

काठमाडौँ । यात्रुसँग तोकिएको भन्दा दोब्बर बढी भाडा लिने २ जनालाई कलङ्की र बसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात् वैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामका सिलसिलामा उपत्यका बाहिरका जिल्ला जाने यात्रुहरूसँग बढी भाडा लिई ठगी गरेको आरोपमा बारा घर भएका ४१ वर्षीय हृदय नारायण साह र बर्दिया घर भएका ३५ वर्षीय कृष्ण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
साहले ना ६ ख ५०६७ नम्बरको बसमा कलैया जाने यात्रुसँग तीन गुणासम्म बढी भाडा लिएका थिए भने चौधरीले ना ७ ख ४९२० नम्बरको बस मार्फत बर्दिया जाने यात्रुहरूसँग प्रति व्यक्ति पच्चीस सय देखी तीन हजारसम्म लिने गरेका पाए पछि पक्राउ गरेको महाशाखाले जनाएको छ ।
दैनिक जसो बढी भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्नहरूलाई निगरानी गरी हालसम्म महाशाखाले अठ्ठाइस जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको महाशाखाले जनाएको छ ।
महाशाखाले निषेधाज्ञा लागु भएपश्चात् बढी भाडा लिई यात्रु ठग्ने विरुद्ध कारबाही अभियान सञ्चालन गरी छुट्टै डेडिकेटेड टिम समेत परिचालन गरेका छौँ । टोलीले सूचना सङ्कलन गर्ने, निगरानी गर्ने, यात्रु बनी भाडा बार्गेनिङ गर्ने, गोप्य रुपमा बुझ्ने र यात्रु ठग्नेलाई पक्राउ गर्ने गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button