तपाईँ सुन्दै हुनुहुन्छः

चोरीको मोटर साइकलसहित एक जना पक्राउ 

बर्दिबास । महोत्तरीको गौशालाबाट चोरीको मोटर साइकलसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गौशाला नगरपालिका वडा नं.–८ कुशमारीका २३ वर्षीय लक्ष्मण साह रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालले बताउनुभयो ।
बर्दिबास नगरपालिका वडा नं. ३ गौरीडाडास्थित डेरा गरी बस्दै आएका इन्जिनियर मनोज कुमार महतोको ज १० प ७९१४ नम्बरको मोटरसाइकल गत चैत्र ९ गते राती चोरी गरेको थियो ।
ह्यान्डलको लक भाँची चोरी गरिएको मोटरसाइकलको नम्बर परिवर्तन गरी बा.९४ प ९७८८ नक्कली प्लेट नम्बर हाली प्रयोग गरेको अवस्थामा विशेष सुराकीको आधारमा मङ्गलवार इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोली मोटरसाइकलसहित आरोपी साहलाई घरबाटै पक्राउ गरेको हो ।
इन्जिनियर महतोको चोरिएको मोटरसाइकलको सक्कली नम्बर परिवर्तन गर्दा पनि प्रहरीले इन्जिन र चेचिस नम्बरका आधारमा साहलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका साहलाई कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय बर्दिबासलाई बुधवार बुझाइएको छ ।
आरोपी साहमाथि महोत्तरी जिल्ला अदालत महोत्तरीबाट ८ दिनको म्याद लिई थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक बालिष्टर सिंहले बताउनुभयो ।
दुई महिना अघि बर्दिबास क्षेत्रबाट चोरका गिरोहले श्रृखलावद्धरुपमा एक दर्जनभन्दा बढी मोटरसाइकल चोरेका थिए ।
पक्राउ परेका साह माथि प्रहरीले अन्य आपराधिक क्रियाकलाप सहितलाई लिएर चौतर्फी अनुसन्धान अघि बढाइएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button