तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा थप २ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा बुधवार (आज) थप २ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
३ सय ६१ जनामा पिसिआर र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा थप २ सय १३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
आज सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिका १ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै थाहा नगरपालिका र मनहरी गाउँपालिकाका १४÷१४ जना, भीम फेदीका ५ जना, मकवानपुरगढीका ४ जना, बकैयाका २ जना र इन्द्र सरोबर र बागमती गाउँपालिकाका १÷१ जनामा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।
योसँगै मकवानपुरमा कोरोना पुष्टि हुनेको सङ्ख्या ५ हजार ९ सय ५५ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै मकवानपुरमा आज थप ६६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
आज ६२ जना होम आइसोलेसन र ४ जना संस्थागत आइसोलेसनमा रहेकाहरू कोरोना सङ्क्रमणमुक्त भएको कार्यालयले जनाएको छ ।
सङ्क्रमणमुक्त हुनेहरूमा हेटौँडा उपमहानगरपालिकाका ५८ जना, थाहा नगरपालिकाका ५ जना, मनहरी गाउँपालिका २ जना र मकवानपुरगढी गाउँपालिकाका १ जना रहेका छन् ।
योसँगै मकवानपुरमा ४ हजार १ सय ४ जना कोरोना सङ्क्रमणमुक्त भएको कार्यालयले जनाएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा मकवानपुरमा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिकाका २ जना र भीम फेदी गाउँपालिकाका एक जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुष र वडा नम्बर ३ का ६३ वर्षीय पुरुष तथा भीम फेदी गाउँपालिका वडा नम्बर ६ का ५९ वर्षीय पुरुषका हेटौँडा अस्पतालको कोभिड कक्षमा उपचारको क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ ।
योसँगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ ।
हेटौँडाबाट भक्तपुर अस्पताललाई १२ अक्सिजन सिलिन्डर पठाइयो
बागमती प्रदेशको राजधानी हेटौँडाबाट भक्तपुर अस्पताललाई थप १२ थान अक्सिजन सिलिन्डर पठाइएको छ ।
गए राति अति आवश्यक भएपछि १२ थान सिलिन्डर पठाइएको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बागमती प्रदेशका प्रमुख वसन्त अधिकारीले जानकारी दिनुभयो ।
यसअघि भक्तपुर अस्पताललाई १५ र २५ थान अक्सिजन सिलिन्डर हेटौँडाबाट पठाइएको थियो ।
बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्रदेशको सबै जिल्ला अस्पताललाई १५ देखि २५ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button