तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा एन्टिजेन किट अभाव, परीक्षण ठप्प

जाजरकोट । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट सहितको संक्रमण तीव्र रुपमा बढ्दै गइरहेको छ । संक्रमण रोकथाम तथा नियन्त्रणको पहल पनि थालिएका छन् । कोरोनाका बिरामीहरू दैनिक दिन बढ्दै गइरहेका छन् । जाजरकोट जिल्लामा एन्टिजेन किटको अभाव भएको छ । अभाव हुँदा समुदाय स्तरमा कोरोना परीक्षण ठप्प भएको छ ।
एन्टिजेन किट सकिएपछि परीक्षणको काम ठप्प भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । समुदाय स्तरमा कोरोना परीक्षणका लागि प्रदेश सरकारले एक हजार ५० थान किट पठाएको थियो । किट नभएपछि लक्षण देखिएका व्यक्तिको परीक्षणसमेत रोकिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टिकाराम जैसीले बताउनु भएको छ ।
नौ हजार थान किट माग गरेकोमा थोरै मात्र आएको र त्यो पनि सकिएको उहाँको भनाइ छ  । प्रदेश तथा सङ्घीय सरकारलाई यसबारे जानकारी गराए पनि अझै किट नआएको जैसीको भनाई छ ।
छेडागाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत झलक केसी किट आफैँ खरिद गर्न खोज्दा पनि नपाएको बताउनु हुन्छ । उहाँका अनुसार जिल्ला स्वास्थ्य सेवा कार्यालयले पठाएको एक सय किट पनि सकिएपछि आपत्कालीन अवस्था आएको केसीको भनाइ छ  ।
एन्टिजेन किटको अभाव हुँदा कोरोना परीक्षण गर्न धेरै समस्या आएको छेडागाड नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद शर्माले जानकारी दिनु भएको छ ।
जाजरकोटमा अहिलेसम्म एक हजार ६१ जनाको एन्टिजेन मार्फत कोरोना परीक्षण गरिएकामा ३ सय ६५ जना र ६ हजार ३ सय ८७ जनाको पीसीआर गरिएकोमा १ सय ८७ जना गरी जिल्लामा अहिले ५ सय ५२  जना संक्रमित छन् ।
अहिले जिल्ला अस्पतालको आइसोलेसनमा १७ जना मात्र उपचार भइरहेको छ । ५ सय ३५ जना कोरोना संक्रमित होम आइसोलेसन बसेका छन् । सङ्क्रमितमध्ये जाजरकोटमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका ४ की ४५ बर्षीया महिला र नलगाड नगरपालिका ११ का ६६ वर्षीय पुरुष रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button