तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि मतदाता नामावली स्वीकृत

निर्वाचन आयोगको कार्यालय
काठमाडौँ । निर्वाचन आयोगले आगामी जेठ १७ गते हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आज मतदाता नामावली स्वीकृत गरेको छ ।
आयोगको आज बसेको बैठकले उपनिर्वाचनका लागि प्रदेश सभा सदस्य ७९ जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २ सय १७ जना गरी जम्मा २ सय ९६ जना मतदाताको नामावली स्वीकृत गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्य गरी जम्मा ३ सय ५ जना मतदाता रहेकोमा हाल विभिन्न कारणले प्रदेश सभा सदस्य ८ र स्थानीय तहका १ गरी जम्मा ९ जना मतदाता रिक्त रहेको छ प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
उप निर्वाचनका लागि दाङ जिल्ला, घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित कर्मचारी मिलन केन्द्र, दाङलाई मतदान स्थल तोकिएको छ । मतदान स्थलमा प्रदेश सभा सदस्यका लागि केन्द्र  (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको लागि केन्द्र (ख) गरी २ (दुई) वटा मतदान केन्द्र समेत तोकिएको आयोगले जनाएको छ ।
यसै गरी आजै निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्युटर अपरेटरका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अहिलेको विषम परिस्थितिमा स्वास्थ्य सम्बन्धी सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गरेर मात्र निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधिहरू सञ्चालन गर्न सम्बन्धित सबैलाई निर्देशन दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button