तपाईँ सुन्दै हुनुहुन्छः

हुन्डी कारोबारमा संलग्न ४ जना पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले अवैध वित्तीय कारोबार हुन्डीको ८२ लाख ५० हजार रुपैयाँ सहित ४ जनालाई पक्राउ गरेको छ ।
भारतको विहार राज्य मोतिहारी जिल्ला पूर्वीचम्पारण रक्सौल घर भई वीरगन्ज महानगरपालिका आदर्शनगरमा डेरा गरी बस्ने २७ वर्षीय विकास कुमारले निषेधाज्ञाको समयमा समेत अवैध रुपमा हुन्डीको कारोबार गरेको विशेष सूचनाको आधारमा पर्सा प्रहरीले वीरगन्जको आदर्शनगर स्थित पुरानो बसपार्कबाट आज दिउँसो १ बजे बारा जिल्ला महागढीमाई नगरपालिका वडा नम्बर ४ बस्ने १८ वर्षीय कलामोद्दिन अन्सारीलाई शङ्कास्पद अवस्थामा हिँडिरहेको बेला चेकजाँच गर्दा निजले बोकेको झोला भित्र २५ लाख रुपैयाँ बरामद गरेको थियो ।
त्यसपछि अन्सारीकै बयानको आधारमा भारतीय नागरिक विकास कुमारको वीरगन्जस्थित डेरामा खानतलासी गर्दा दुई वटा कालो ब्याग र २ वटा हेलमेटभित्र लुकाई छिपाई राखिएको अवस्थामा ५७ लाख ५० हजार गरी जम्मा ८२ लाख ५० हजार नगद रुपैयाँ सहित भारतीय नागरिक रक्सौल निवासी २७ वर्षीय विकास कुमार, २२ वर्षीय गुड्डु  कुमार र १८ वर्षीय साहिल गुप्तालाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।
प्रहरीले विकास कुमारको डेराबाट अवैध हुन्डीको कारोबारमा प्रयोग गरिएको ना।८प।४८९७ नम्बरको डिस्कभर मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
अभियुक्तहरूलाई बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा थप अनुसन्धान अगाडि बढाइएको  जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button