तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाका गाउँगाउँमा संक्रमित, आइसोलेसन रित्तै 

जुम्ला । जुम्लामा हाल सम्म १ सय ९९ जनामा कोरोना संक्रमण पृष्टी भएको छ । दोस्रो लहरको संक्रमण फैलिए सँगै वैशाख ९ गतेदेखि हाल सम्मको तथ्याङ्क अनुसार १ सय ९९ जनामा संक्रमण पृष्टी भएको हो ।
जसमा ३ सय ९ जनामा पिसिआर जाँच गरिएकोमा १ सय ११ जना र आठै ८ सय ११ जनाको एन्टीजेन परिक्षण गर्दा ८८ जनामा गरी १ सय ९९ जना व्यक्ति संक्रमित भएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताउनुभयो ।
उहाँले परीक्षणको दायरालाई बढाइएको र संक्रमण भयावह भइसकेकोले सङ्क्रमितको व्यवस्थापनमा सबै निकाय जुट्न आवश्यक रहेको जानकारी दिनुभयो ।
जम्मा संक्रमित मध्य हाल हाल सम्म २६ जना बिरामीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार भइरहेको निमित्त अस्पताल निर्देशक राजीव शाहले बताउनुभयो । उहाँका अनुसार अहिले सम्म १७ जना डिस्चार्ज भएका छन् । भने बाँकी १ सय ५६ जना संक्रमित होम आइसोलेसनमा बसेका छन् ।
संक्रमित घरघरमा, आइसोलेसन रित्तै
जुम्लाका चन्दनाथ नगरपालिका र तिला गाउँपालिका बाहेक ६ स्थानीय तहमा ५–५ बेडको कोभिड अस्पताल निर्माण भएका छन् भने, हिमामा २०, पातारासीमा ३०, गुठिचौरमा ५, कनकासुनदरीमा ५०, तातोपानीमा २० र सिञ्जामा ३० बेड गरी १ सय ५५ बेडको आइसोलेसन तयार भएका छन् ।
तर, दैनिक संक्रमित बढेर १ सय ९९ पुगेका छन् । तीमध्ये १ सय ५६ जना घरघरमा बसेका छन् ।  तर स्थानीय तहका आइसोलेसन र कोभिड अस्पताल भने रित्तै छन् । यसबारे आठै स्थानीय तहका प्रमुखहरू अहिले सम्म मौन अवस्थामा बसेका छन् ।
नागरिक समाजका अध्यक्ष राज बहादुर महतले विगतको जस्तो प्रशासन, स्थानीय तहको सक्रियता नभएकै कारण संक्रमण बढ्न थालेको उल्लेख गर्नुभयो । आइसोलेसन कोभिड अस्पताल रित्तै राखेर होम आइसोलेसनमा संक्रमित पठाउने नीतिले कोरोना रोकथाम तथा फैलिने सम्भावना बढेकोले तत्काल आइसोलेसन सञ्चालनमा ल्याउनु पर्ने उहाँको सुझाव छ ।
यता तिला गाउँपालिकाले मात्रै ५ बेडको कोभिड अस्पतालमा ३ वटा अक्सिजन सिलिन्डर र एमबिबिएस डाक्टर सहित सङ्क्रमितको उपचारका लागि तयारी अवस्थामा रहेको स्वास्थ्य शाखा संयोजक गणेश शाहीको भनाई छ ।
साथै, तातोपानी  गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक गुरु प्रसाद चौलागाईले कोभिड अस्पतालमा दुई पटक विज्ञापन गर्दा पनि एमविविएम डाक्टर नआएको र अक्सिजन ग्याँस ल्याउने तयारीमै रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button