तपाईँ सुन्दै हुनुहुन्छः

चितवन निकुञ्जमा गौरी गाई गणना सुरु

नवलपुर। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित वन्यजन्तुको सूचिमा सूचिकृत सङ्कटापन्न अवस्थाको जङ्गली गाई (गौरी गाई)को गणना चितवन राष्ट्रिय निकुञ्जमा सुरु गरिएको छ । निकुञ्जले पाँच वर्षपछि मङ्गलवार वाट सो गणना थालेको हो ।

गौरी गाईको पछिल्लो अवस्थाको बारेमा जानकारी लिने उद्देश्यले यसको आन्तरिक अनुगमन तथा गणना सुरु गरिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले बताउनुभयो । गणनाका लागि निकुञ्जका २२ हात्ती र ६० जना जनशक्ति परिचालन गरिएको छ । गणना बढीमा पाँच दिनभित्र सकाउने लक्ष्य छ ।
निकुञ्जको सम्भावित चुरे, भावर र नदी तटीय क्षेत्रमा सालको वनसँग जोडिएका घाँसे मैदानलाई १४ ब्लकमा विभाजन गरी प्रत्यक्ष अवलोकन विधिबाट गणना भइरहेको छ । सन् २०१६ को गणनाअनुसार पर्सा र चितवन राष्ट्रिय निकुञ्जमा गरी ४७३ गौरी गाई रहेकामा चितवनमा ३६८ छन् । सन् १९५० को दशकमा उदयपुर तथा कोसी टप्पु क्षेत्रमा प्रशस्त पाइने यो पछिल्ला दिनमा देखिन छाडेको छ । सन् २०११ को गणनामा ३१२ वटा थिए ।

नेपाल र भारतसमेत दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका ११ देशमा यसका ३ उपप्रजाति पाइन्छ । विशेष गरी सुख्खा भागमा बस्न रुचाउने यसको सरदर आयु २० देखि ३० वर्ष हुन्छ । ठुलो झुण्डमा बस्न रुचाउने यो वन्यजन्तु कहिलेकाहीँ बाघको सिकारमा पनि पर्ने गरेको छ । भाले गौरी गाई ६०० देखि १००० किलोग्रामसम्म हुछन् । प्रायः एउटा हुलमा ८ देखि ११ वटा गाई रहने गर्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button