तपाईँ सुन्दै हुनुहुन्छः

झापामा एकै दिन ११ कोरोना सङ्क्रमितको मृत्यु

भद्रपुर, झापा।  झापामा दैनिक कोरोना संक्रमण र मृत्युको सङ्ख्या बढ्दै गएको छ ।

जिल्लामा बुधवार एकै दिनमा ११ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् । त्यसमा नौ जना झापा र दुई जना जिल्लाबाहिरका छन् ।
मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाका तीन/तीन एवम् कनकाई नगरपालिका, बिर्तामोड नगरपालिका र कचनकवल गाउँपालिकाका एक/एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

मेचीनगर–६ का ६० वर्षीय र १० का ६६ वर्षीय पुरुषको बिर्तासिटी अस्पताल र मेचीनगर–१० कै ३९ वर्षीया महिलाको मेची प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको छ । त्यसै गरी भद्रपुर–९ की ८८ वर्षीया बृद्धाको होम आइसोलेसनमा, भद्रपुर–४ का ४९ वर्षीय सङ्क्रमितको नोबेल हस्पिटल विराटनगर र सोही वडाका ४८ वर्षीय पुरुषको मेची अस्पतालमा मृत्यु भएको हो ।

कनकाई नगरपालिका–७ का ६० वर्षीय पुरुषको होम आइसोलेसनमा, बिर्तामोड–१ की ५३ वर्षीया महिलाको बीएण्डसी हस्पिटलमा र कचनकवल–५ का ७० वर्षीय वृद्धको मेची प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।योसँगै झापामा सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या १७० पुगेको छ ।

झापामा बुधवार ३७१ संक्रमित थपिए । यो अहिलेसम्मकै उच्च अङ्क हो । पिसिआर विधिमार्फत ३२५ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४६ जनामा संक्रमण पुष्टि भएको थियो । परीक्षणमा १८९ महिला र १८२ पुरुषमा संक्रमण पुष्टि भएको कोरोना फोकल पर्सन जीवन चौलागाईंले जानकार दिनु भयो ।

सबैभन्दा बढी बिर्तामोड नगरपालिकाका ९० जना, भद्रपुरमा ५६, अर्जुनधारामा ५०, मेचीनगरमा ३१, कनकाईमा २४, दमकमा २२, बुद्ध शान्तिमा २०, गौरादहमा १८, कमलमा १३, शिवसताक्षीमा १२, बाह्रदशीमा ५, कचनकवलमा ५, झापामा ४ र पालिका नखुलेका ८ जनामा संक्रमण पुष्टि भएको थियो ।
झापामा हालसम्म ५२९७ जनामा संक्रमण पुष्टि भएको, तीमध्ये ४६९२ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button