तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा थप ८ जना कोरोना सङ्क्रमितको मृत्यु

बीरगंज । वीरगञ्जमा उपचारको क्रममा आज थप ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
बीरगंजस्थित नारायणी अस्पतालमा उपचाररत ४ जना, बयोधा अस्पतालमा १ जना, स्पर्श मल्टी स्पेस्यालिटी अस्पतालमा १ जना, भवानी अस्पतालमा २ जना गरी ८ जनाको मृत्यु भएको हो ।
बीरगंजको नारायणी अस्पतालमा आज बिहान ३ः३० बजे बीरगंज महानगरपालिका वडा नम्बर २७ सुगौली निवासी ४५ बर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
मृतक महिलाको उच्च निमोनियाको कारण श्वास प्रश्वासमा समस्या भएपछि मृत्यु भएको डा.दासले बताउनुभयो ।
यसैगरी नारायणी अस्पतालमै आज बिहान बीरगंज महानगरपालिका वडा नम्बर ५ निवासी ५८ बर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको  छ ।
वैशाख २० गते अस्पतालमा भर्ना भएकी महिलाको पिसीआर रिपोट पोजेटिभ आएको र उपचारकै क्रममा आज बिहान मृत्यु भएको डा.दासले बताउनुभयो ।
त्यस्तै नारायणी अस्पतालमै बारा इनर्वा बस्डिलवा निवासी ३५ वर्षीय पुरुषको गए राति निधन भएको छ ।
वैशाख २८ गते उपचारका लागि भर्ना भएका पुरुषको गए राति निधन भएको हो ।
त्यसै गरी रौतहटको गरुडा नगरपालिका वडा नम्बर ४ निवासी ४१ वर्षीय पुरुषको समेत गए राति निधन भएको छ ।
नारायणी अस्पतालमा वैशाख १७ गते भर्ना भएका पुरुषको उच्च निमोनियाको कारण मृत्यु भएको डा.दासले बताउनुभयो ।
त्यस्तै बीरगंजको भवानी अस्पतालमा उपचाररत पोखरीया नगरपालिका वडा नम्बर १० निवासी ६५ बर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति एवम् प्रशासकीय अधिकृत विनय श्रीबास्तबले जानकारी दिनुभयो ।
मृतक महिलालाई वैशाख २९ गते भवानी अस्पतालमा भर्ना गरिएको र सोही दिन पिसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।
त्यसै गरी भवानी अस्पतालमै उपचाररत बीरगंज महानगपालिका वडा नम्बर १ निवासी ६५ वर्षीय पुरुषको आज बिहान ५ः०० बजे उपचारको क्रममा मृत्यु भएको छ ।
वैशाख २९ गते भवानी अस्पतालमा भर्ना भएका उनको पिसीआर परीक्षणको रिपोट पोजेटिभ आएको र उच्च निमोनियाको कारण मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीबास्तबले बताउनुभयो ।
त्यस्तै स्पर्श मल्टी स्पेस्यालिटी अस्पताल बीरगंजमा उपचाररत बीरगंज महानगरपालिका वडा नम्बर २१ निवासी ५६ वर्षीय पुरुषको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ ।
त्यसै गरी बीरगंज महानगरपालिका वडा नम्बर १० निवासी ७६ वर्षीय पुरुषको समेत उपचारको क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीबास्तबले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button