तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा चितुवाको छालासहित एक जना पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले गुर्भाकोट नगरपालिका–३, कुरिल्लेबाट चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले छिन्चु–जाजरकोट सडक खण्ड अन्तर्गत बोटेचौरबाट सल्ली बजारतर्फ आउँदै गरेको भे४प–४८८७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चितुवा (बाघ)को छालासहित गुर्भाकोट नगरपालिका–९, का वीरेन्द्रकुमार खत्रीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डिएसपी) रामप्रसाद घर्तीले चितुवा(बाघ)को छालासहित मोटरसाइकलमा एक व्यक्ति आइरहेको गोप्य सूचनाको आधारमा जिप्रकाबाट खटिएको प्रहरी टोलीले खत्रीलाई रंगेहात पक्राउ गरेको बताउनुभयो ।
उहाँले टाउकोदेखि पुच्छरसम्म भएको चितुवाको छालासहित खत्रीलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि गुर्भाकोट सब–डिभिजन वन कार्यालय मेहेलकुनालाई जिम्मा लगाइएको जानकारी दिनुभयो ।
यता डिभिजन वन कार्यालय सुर्खेतका डिभिजन वन अधिकृत गोविन्दप्रसाद दाहालका अनुसार चितुवाको छालासहित पक्राउ परेका माथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार ५० हजारदेखि १ लाख रुपैयाँसम्मको नगद जरिवानासहित एक वर्षको कैद सजाय तोकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button