तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा निषेधाज्ञाको अवधि १० दिन थपियो

जनकपुरधाम । कोरोना महामारी बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा आदेशको अवधि १० दिन बढाएको छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको आज बसेको बैठकले  गरेको निर्णय अनुसार अगामी जेठ १० गते मध्य रातिसम्मका लागि निषेधाज्ञा आदेश जारी गरिइएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
यस अघि वैशाख २१ गते बिहान ६ बजे देखि ३१ गते मध्य रातिसम्मका लागि निषेधाज्ञा आदेश गरिएको थियो ।
पछिल्लो पटक १० दिन थप गरी जारी गरिएको निषेधाज्ञालाई अझै कडाइ गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण उद्योग, कलकारखाना, शिक्षण संस्था, बजार, यातायात सेवा, सरकारी कार्यालय सहितका सेवाहरू बन्द गर्ने निर्णय गर्दै नेपाल भारतको सीमा क्षेत्रमा थप कडाइ गर्दै सुरक्षा व्यवस्थामा खटिएका सशस्त्र प्रहरीलाई गस्तीका लागि इन्धन सहितका बन्दोबस्तका लागि ७ लाख रकम निकासा दिने निर्णय गरेको छ ।
यसैगरी अक्सिजनको आपूर्तिलाई सहज बनाउनका लागि उद्योगहरूबाट नियमित रुपमा सुरक्षासहित अक्सिजन उपलब्ध गराउने, महामारीको समयमा एम्बुलेन्सहरूबाट भइरहेको अनियमितताको अनुगमन गर्ने र गल्ती पाइएको खण्डमा कारबाही गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिनुभयो ।
यसैगरी महामारीको जोखिममा खटिइएका चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।
केही दिन अगाडी कोरोनाका सङ्क्रमित बिरामीको मृत्यु भएको आक्रोशमा मृतकका आफन्तले स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गर्नुका साथै प्रादेशिक अस्पतालमा तोडफोड गरेपछि  चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा व्यवस्था बढाउने निर्णय समितिले गरेको छ ।
बैठकमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका पदाधिकारीहरू, सुरक्षा निकायका पदाधिकारी एवं जनकपुर उद्योग वाणिज्य संघका अध्यक्षको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button