तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी अस्पताललाई दुई थान भेन्टिलेटर हस्तान्तरण 

बीरगंज । बीरगंजको नारायणी अस्पतालमा प्रदेश नम्बर २ को प्रदेश सरकारले आज दुई थान भेन्टिलेटरसहित कोरोना रोकथामका लागि विभिन्न उपयोगी स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले युएनडिपीको सहयोगमा बीरगंजको नारायणीसहित जनकपुर र सप्तरी अस्पतालमा तत्काल अक्सिजन प्लान्ट जडान गरिने बताउनुभएको छ ।
उहाँले नारायणी अस्पतालमा कोभिड उपचारका लागि चिकित्सकसहित १९ जना स्वास्थ्यकर्मी थप गर्न लागेको बताउनुभयो ।
उहाँले पर्साको पोखरीया अस्पतालमा समेत तत्काल पिसीआर मेसिन जडान गरिने बताउनुभयो ।
सो अवसरमा मुख्यमन्त्री राउतले दुई थान भेन्टिलेटर नारायणी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. सञ्जय ठाकुरलाई हस्तान्तरण गर्नुहुँदै अक्सिजन लगायत अतिआवस्यक औषधी व्यवस्थापन गर्नका लागि प्रदेश सरकारको तर्फबाट २० लाख रुपैयाँ उपलब्ध गराउने बताउनुभयो ।
कार्यक्रममा बीरगंज महानगरपालिकाका नगरप्रमुख विजय सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे, नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्र किशोर लाभ, डा. निरज शर्राफ, डा.एनामुल हक लगायत स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button