तपाईँ सुन्दै हुनुहुन्छः

उपप्रधानमन्त्री र अमेरिकी राजदूतबीच संवाद : अमेरिकाबाट अर्को साता स्वास्थ्य सामाग्री आउने 

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामाग्री सहयोगका लागि कूटनीतिक पहल तीव्र गर्नुभएको छ ।

यस क्रममा उपप्रधानमन्त्री पोखरेल र अमेरिकी राजदूत रेन्डी बेरीबीच आज टेलिफोन संवाद भएको छ ।

उपप्रधानमन्त्री पोखरेलले नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराइदिने वातावरण मिलाइदिन अमेरिकी राजदूत बेरीलाई आग्रह गर्नुभयो ।

उहाँले नेपालमा कोरोना भाइरसको तीव्र फैलावट रोक्न खोप नै उपयुक्त माध्यम भएकाले त्यसका लागि नेपाल सरकारले अमेरिका सरकारको सहयोग चाहेको बताउनुभयो । अमेरिकी खोपको नेपालमा उत्सुकता र तीव्र प्रतीक्षा रहेको उपप्रधानमन्त्री पोखरेलले जानकारी गराउनुभयो ।

यसैगरी, कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक भेन्लिटेलर, पिपिई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामाग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्ति लगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरेको उहाँले बताउनुभयो ।

अमेरिकी राजदूत बेरीले अर्को सातासम्म नेपालमा अमेरिकी सरकारका तर्फबाट स्वास्थ्य सामाग्रीहरू सहयोग गरिने जानकारी दिनुभयो । तर, के के सहयोग गरिने भन्ने बारेमा आगामी आइतबारसम्म टुङ्गो लाग्ने उहाँले बताउनुभयो । ‘खोपका बारेमा मैले पनि पहल गरिरहेको छु, टुङ्गो लाग्नासाथ तपाईँलाई जानकारी गराउँछु’– उपप्रधानमन्त्रीलाई राजदूत बेरीले भन्नुभयो ।

अमेरिकी राजदूत बेरीले हप्तामा दुई वटा अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण बनाइदिन पनि उपप्रधानमन्त्री पोखरेललाई आग्रह गर्नुभएको थियो ।

उपप्रधानमन्त्री पोखरेलले यसका विषयमा आफूहरूले पनि सोचिरहेको भन्दै सिसिएमसीको बैठकबाट आवश्यक निर्णय गरिने जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले यसअघि नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग पनि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)बाट पाउने कोभ्याक्स अन्तरगतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button