तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै, दोलखामा पनि अक्सिजन अभाव

दोलखा । कोरोनाको उपचार गर्दै आएको चरिकोट अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि अक्सिजनको समस्या हुने देखिएको छ ।

बिरामीको चाप बढ्दै गए अहिलेकै अवस्थामा अक्सिजनले एक हप्ता पनि थेग्न नसक्ने अस्पतालका प्रमुख एमडिजिपि डा.विनोद दंगाल बताउनुहुन्छ ।

दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएपछि चरिकोट अस्पतालमा ३७ जना कोरोना सङ्क्रमित बिरामी उपचारको लागि भर्ना भएकोमा एक जनाको मृत्यु भएको, चार जनालाई काठमाडौँ रिफर गरिएको र पाँच जना डिस्चार्ज भएको डा. दंगालले बताउनुभयो ।

अस्पतालमा उपचाररत बिरामी मध्ये तीन जनाको अवस्था गम्भीर रहेको डा. दंगाल बताउनुहुन्छ ।

दोलखाको नौ वटै पालिकाबाट कोरोना संक्रमितहरु उपचारको लागि चरिकोट अस्पताल आउने भएकोले पनि अस्पतालमा चाप बढेको उहाँको भनाई छ ।

चरिकोट अस्पतालमा सङ्घीय तथा प्रदेश सांसदहरूको आर्थिक सहयोगमा पिसिआर प्रयोगशाला स्थापना भए यता झण्डै नौ सय जनाको पिसिआर परीक्षण गरिएको र त्यसमा तीन सय जनाको पिसिआर रिपोट पोजेटिभ आएको डा. दंगालले बताउनुभयो ।

पिसिआर प्रयोगशालामा पनि पिसिआर परीक्षणको लागि स्वाब अत्यधिक आउने गरेको तर आवश्यक जनशक्तिको अभावमा रिपोट दिन ढिलाइ भइरहेको उहाँको भनाई छ ।

चरिकोट अस्पतालमा कोरोना सङ्क्रमितको उपचारको लागि छुट्टै भवन र स्वास्थ्यकर्मीहरूको टिमको व्यवस्था गरिएको छ ।

कोरोना बाहेक प्रसूति लगायत अन्य बिरामीहरूको सेवालाई समेत निरन्तरता दिएको चरिकोट अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ ।

चरिकोट अस्पताललाई अहिले निजी क्षेत्रबाट सञ्चालित च्छो रोल्पा जनरल अस्पताल लगायतले अक्सिजन सहयोग गरिरहेको अस्पतालका प्रमुख डा.दंगालले बताउनुभयो ।

थप अक्सिजनको व्यवस्थापन नगर्ने र बिरामीको चाप अहिलेकै अवस्थामा कायम रहने हो भने एक हप्ताभन्दा बढी समय थेग्न नसकिने अस्पतालका प्रमुख एमडिजिपि डा.दंगाल बताउनुहुन्छ ।

न्याय हेल्थ नेपालले व्यवस्थापनको जिम्मेवारी छोडेपछि भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुँदै आएको चरिकोट अस्पताललाई सरकारले प्रदेश स्तरको अस्पताल बनाउने निर्णय गरेको भए पनि हालसम्म प्रदेश सरकारबाट सहयोग प्राप्त नभएको भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले बताउनुभयो ।

अस्पतालमा अक्सिजनको अभाव सुरु भएको र नगरपालिकामा समेत बजेट अभाव भएकोले प्रदेश सरकारको सहयोग नहुने हो भने बिरामीको उपचारमै कठिनाइ हुने नगरप्रमुख केसीको भनाई छ ।

दोलखामा कोरोना सङ्क्रमितको उपचार चरिकोट अस्पतालमा मात्र भइरहेकोले आवश्यक जनशक्ति र अक्सिजन व्यवस्थापनको लागि जिल्लाको नौ वटै पालिकाहरूले सहयोग गर्नु पर्ने सरोकारवालाहरू बत्ताउँछन् ।

दोलखाको बैतेश्वर गाउँपालिकाको क्षेत्र, जिरी नगरपालिका, भीमेश्वर नगरपालिकाको बजार क्षेत्र तथा वडा नम्बर ८ को सेरा लगायतको ठाउँमा कोरोना सङ्क्रमितको सङ्ख्या अत्यधिक देखिएको र सङ्क्रमित मध्य अधिकांशलाई अस्पतालमै भर्ना गर्नु पर्ने भएकोले पनि चरिकोट अस्पतालमा तत्कालै थप अक्सिजनको व्यवस्थापन आवश्यक भएको डा.दंगाल बताउनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button