तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा थप १५ दिन निषेधाज्ञा 

सल्यान । कोभिड–१९ को संक्रमण उच्च गतिमा फैलिएको भन्दै सल्यानमा १५ दिन निषेधाज्ञा थप गरिएको छ । कोरोना संक्रमण नियन्त्रण र व्यवस्थापन गर्न भन्दै जेठ २ गते राती १२ बजेदेखि जेठ १६ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गरिएको हो ।
बिहीबार जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ १ गतेसम्म जारी निषेधाज्ञालाई १५ दिन थप गरेर जेठ १६ गतेसम्म लागु गर्ने निर्णय गरेको हो ।
जिल्लामा संक्रमण दर उच्चतम विन्दुतर्फ बढ्दै गइरहेकाले निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले बताउनुभयो । जिल्लामा कोभिड–१९ को उच्च जोखिमलाई न्यूनीकरण गर्न तथा उपचारको प्रबन्ध मिलाउन निषेधाज्ञा थप्नु परेको उहाँको भनाई छ ।
निषेधाज्ञाको क्रममा अत्यावश्यक बाहेकका सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न पूर्ण रुपमा रोक लगाइएको छ । अत्यावश्यक लगायतका खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य, औषधी र स्वास्थ्य सामाग्रीका पसलहरू स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी होमागाईले जानकारी दिनुभयो ।
जिल्लामा सङ्क्रमणको दर उच्च विन्दुमा पुगे पनि हालसम्म आइसियु र भेन्टिलेटर सञ्चालनमा आउन सकेको छैन ।
जिल्लामा कोरोना सङ्क्रमणबाट बिहीबारसम्म ५ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् भने १८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button