तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशमा पाँच सय सिलिन्डर भर्न मिल्ने लिक्विड अक्सिजन भारतबाट ल्याइयो

रुपन्देही । अक्सिजन अभावमा कोरोना सङ्क्रमितको उपचारमा समस्या आइरहेको लुम्बिनी प्रदेशमा आज भारतबाट पाँच सय सिलिन्डर भर्न मिल्ने लिक्विड अक्सिजन ल्याइएको छ ।

लुम्बिनी प्रदेशका कोभिड विशेष अस्पताल र निजी अस्पतालमा समेत अक्सिजन अभावमा उपचार प्रभावित भइरहेको बेला प्रदेश सरकारले यसको समन्वय गरिरहेको जनाएको छ ।

आज रुपन्देहीको  छिपागढमा रहेको शङ्कर ग्यास उद्योगले भारतबाट लिक्विड ग्यास आयात गरेको हो । प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भोजप्रसाद श्रेष्ठले रुपन्देही र बाँकेमा लिक्विड ग्यास आयात गरिएको बताउनुभयो ।

प्रदेशभरमा अहिले कोरोना भाइरसका बिरामीका लागि अक्सिजन हाहाकार छ । रुपन्देहीमा बढ्दो अक्सिजन ग्यासको मागलाई धान्न नसकेपछि शङ्कर ग्यासले भारतबाट लिक्विड ग्यास आयात प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो ।

आज आयात गरिएको ग्यास पाँच सय सिलिन्डर रहेको छ । शुक्रवार बिहान ९ः०० बजे भैरहवा भन्सार कार्यालयमा आवश्यक कागजात प्रक्रिया पूरा गरेर उद्योगले अक्सिजन उद्योगसम्म पुर्‍याएको छ ।

उद्योगले दैनिक पाँच सय सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएको थियो । रुपन्देहीमा रहेका पाँच वटा कोभिड अस्पतालले दैनिक दुई हजार एक सय ५० बढी सिलिन्डर अक्सिजन माग गर्ने गरेकोमा उत्पादन भने ११ सय सिलिण्डर रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्र गिरीले बताउनुभयो ।

रुपन्देहीमा रहेका तीन वटा उद्योगमा उत्पादन भएका ग्यासबाट काम गर्दै आएका छन् ।

स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले अक्सिजनको माग र आपूर्तिको असन्तुलनले आएको समस्या स्थानीय र प्रदेशको सहकार्यमा समाधान गरिने बताउनुभयो ।

उहाँले विभिन्न अस्पतालमा रहेका अक्सिजन प्लान्ट छिटो सञ्चालनका लागि निर्देशन गरिसकेको र निजी अस्पतालमा पनि यो नियमलाई कडाइका साथ लागू गरिने बताउनुभयो ।

केही दिन अगाडि अक्सिजन अभाव भएपछि केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहले समन्वय गरेर हेलिकोप्टरमा ४० सिलिन्डर ग्याँस चितवन र सिमराबाट नेपाली सेनाको हेलिकप्टरमार्फत रुपन्देही ल्याइएको थियो ।

गएको बुधवार अक्सिजन सकिएर बुटवलको कोभिड अस्पतालमा ५ जना र भैरहवाका भीम अस्पतालमा उपचार गराइरहेका ३ जना बिरामीको मृत्यु भएको थियो ।

मुख्य मन्त्री शङ्कर पोखरेलले दुवै जिल्लामा लिक्विड अक्सिजन आएको र प्रदेशका अक्सिजन उद्योगलाई व्यवस्थित गरिने जनाउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button