तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा थप ४ सय ३३,  कोरोना रोकथाम तथा नियन्त्रणका लागि सेनालाई ३० लाख बजेट  

धनगढी । कैलालीमा आज थप ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीमा एकै दिन देखिएको यो संक्रमित सङ्ख्या अहिले सम्मकै सबैभन्दा बढी हो ।
सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी  दिनुभयो । यसै गरी कैलालीमा पछिल्लो २४ घण्टाको अवधिमा  कोभिड–१९ अस्पतालमा उपचाररत ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको उहाँले बताउनुभयो ।
कैलालीमा कोरोना सङ्क्रमणबाट हालसम्म १ सय ७० जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन शिवराज जोशीले जानकारी दिनुभएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सेनालाई ३० लाख बजेट
सुदूरपश्चिम प्रदेश सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागी नेपाली सेनालाई ३० लाख बजेट उपलब्ध गराएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले नेपाली सेनाको सुदूरपश्चिम पृतनालयलाई ३० लाख बजेट उपलब्ध गराइको बताउनुभयो ।
धनगढीको बोराडाँडीमा निर्माणाधीन नेपाली सेनाको अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागी नेपाली सेनालाई उक्त रकम उपलब्ध गराइएको बताइएको छ । सर्वसाधारणले समेत उपचार सेवा पाउने गरी अस्पताललाई चाडै सञ्चालनमा ल्याउने गरी काम भइरहेको नेपाली सेनाको पृतनालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button