तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा थप ७ जना कोरोना सङ्क्रमितको मृत्यु

symbolic picture
वीरगंज । वीरगंजका विभिन्न अस्पतालमा थप ७ जना कोरोना सङ्क्रमितको आज उपचारको क्रममा मृत्यु भएको छ ।
वीरगंजको नारायणी अस्पतालमा ५ जना, स्पर्श मल्टी स्पेस्यालिटि अस्पतालमा १ जना र प्रभु अस्पतालमा १ जना गरी ७ जनाको मृत्यु भएको छ ।
वीरगंजको नारायणी अस्पतालमा आज अपराह्न २ बजे वीरगंज महानगरपालिका वडा नम्बर १६ निवासी ६५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । वैशाख २७ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका पुरुषको आज दिउँसो मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
वीरगंजको स्पर्श मल्टी स्पेस्यालिटि अस्पतालमा भर्ना भएका बीरगंज महानगरपालिका वडा नम्बर १३ निवासी ६८ वर्षीय पुरुषको आज ११.१८ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति एवं प्रशासकीय अधिकृत विनय श्रीबास्तबले जानकारी दिनुभयो ।
६८ वर्षीय पुरुष वैशाख ३० गते अस्पताल भर्ना भएकोमा ३० गते नै कोरोना संक्रमण पुष्टि भएको र उपचारको क्रममा आज मृत्यु भएको श्रीबास्तबले बताउनुभयो ।
त्यसै गरी वीरगंजमा रहेको प्रभु अस्पतालमा आज बिहान १०.३० बजे वीरगंज महानगरपालिका वडा नम्बर १० निवासी ४६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । वैशाख २८ गते अस्पताल भर्ना भएका पुरुषको एन्टिजेन परीक्षणको क्रममा कोरोना पोजेटिभ रिपोर्ट आएको र उच्च निमोनियाको कारण मृत्यु भएको श्रीबास्तबले जानकारी दिनुभयो ।
त्यसै गरी वीरगंजको नारायणी अस्पतालमा आज बिहान ४ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ निवासी ६० बर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । मृतक महिलाको उच्च निमोनियाको कारण श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको डाक्टर दासले बताउनुभयो ।
यसै गरी नारायणी अस्पतालमै आज बिहान वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी ८५ बर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।  वैशाख २३  गते अस्पतालमा भर्ना भएकी  महिलाको एन्टिजेन  रिपोर्ट पोजेटिभ आएको र उपचारकै क्रममा आज बिहान मृत्यु भएको डाक्टर दासले बताउनुभयो ।
यसै गरी गए राति पर्साको डकैला बहुअरी वडा नम्बर २ निवासी ५० बर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ । नारायणी अस्पतालमा वैशाख १८ गते उपचारार्थ भर्ना भएकी महिलाको कोरोना सङ्क्रमणको कारण उच्च निमोनिया र श्वास प्रश्वासमा समस्या भएपछि गए राति निधन भएको डाक्टर दासले जानकारी दिनुभयो ।
यसै गरी नारायणी अस्पतालमा गए राति वीरगंज महानगरपालिका वडा नम्बर १५ निवासी ५९ वर्षीय पुरुषको कोरोना सङ्क्रमणको कारण निधन भएको डा.दासले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button