तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड–१९ लाई सामना गर्ने गरी बजेट ल्याउनेः अर्थमन्त्री पौडेल

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने बताउनुभएको छ ।
अर्थ मन्त्रालयमा पद बहाली पछि कुरा गर्दै अर्थमन्त्री पौडेलले बजेट तयारीको अन्तिम चरणमा रहेको र कोभिड–१९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान र गतिशील बनाउने सङ्कल्पका साथ बजेट ल्याउने तयारी बताउनुभएको हो ।
उहाँले कोभिड–१९ लाई रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने भन्दै कोभिड–१९ विरुद्धको लडाइँलाई थप सघन र प्रभावकारी बनाउने बताउनुभयो ।
अर्थमन्त्री पौडेलले कोभिड–१९ बाट संक्रमित भएकाहरूको परीक्षण र उपचारका लागि आवश्यक सबै प्रयासहरूलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पदभारसँगै अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइप लाइन जडानका लागि डडेलधुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयलाई स्वीकृत गर्नुभएको थियो ।
पदभार ग्रहण गर्नुअघि अर्थमन्त्री पौडेललाई अर्थसचिव शिशिरकुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, सहसचिवहरू लगायतले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button