तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा थप ८ जनाको मृत्यु

बाँके  । कोरोना भाइरस सङ्क्रमणका कारण ५ महिने गर्भवतीसहित बाँकेमा थप ८ जनाको मृत्यु भएको छ ।
ठाकुर बाबा–१ बर्दियाका ३४ वर्षीया गर्भवतीले कोभिड सङ्क्रमणकै कारण ज्यान गुमाएको बर्दियाका कोभिड फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
वैशाख २२ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि २४ वैशाखमा थप उपचारका लागि भेरी अस्पतालमा भर्ना हुनुभएकी उहाँको आज ज्येष्ठ २ गते बिहान २ः५८ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
यसैबिच बाँकेका अस्पतालमा गए राति थप ७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभएको छ ।
मृत्यु हुनेमा बाँकेका ४ जना, बर्दियाका ३ जना र सल्यानका १ जना रहेका छन् ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत कोहलपुर- ४ का ४२ वर्षीय पुरुष, ठाकुर बाबा नगरपालिका-१ बर्दियाका ४६ वर्षीय पुरुष, ठाकुर बाबा -१ बर्दियाकी ३४ वर्षीया महिला, नेपालगन्ज -१९ का ३९ वर्षीय पुरुष र  बनगाड कुपिण्डे ४ सल्यानकी ६० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।
त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बैजनाथ -२ बाँकेकी ३७ वर्षीया महिला, कोहलपुर-९ बाँकेका ६१ वर्षीय पुरुष र गुलरिया १० बर्दियाका ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।
योसँगै कोरोनाबाट बाँकेका २ सय २९ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १ सय ७५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button