तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीले कोभिडबारे जनस्वास्थ्य विज्ञहरूसँग आज छलफल गर्नुहुँदै

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले आज जनस्वास्थ्यविद्, कोभिड नियन्त्रणका लागि अग्रपङ्तिमा रहेर काम गरिरहनुभएका व्यक्तित्व तथा निजी क्षेत्रका सरोकारवाला पक्षसँग सामूहिक छलफल गर्न लाग्नु भएको छ ।
मुलुकभर कोभिड सङ्क्रमणका बिरामी तीव्र रूपले बढ्दै गएर महामारीको रूप लिन थालेपछि  प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ः०० बजे प्रधानमन्त्रीले सरोकारवाला पक्षसँग छलफल गर्न लाग्नु भएको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले पदभार ग्रहणका क्रममा सरकारले कोभिड नियन्त्रण तथा रोकथामका लागि आफ्नो सबै ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । सोही प्रतिबद्धता अनुरूप उहाँले आज जनस्वास्थ्य विज्ञ तथा सरोकारवालासँग छलफलका आधारमा आवश्यक कार्य योजना र कार्यनीति तय गर्ने तयारी गर्नुभएको प्रेस विज्ञ बजगाईँले जानकारी दिनुभयो।
कोभिड सङ्क्रमितहरूको उपचारका लागि अस्पतालमा शय्या तथा अक्सिजन सिलिण्डर नपाएको गुनासो बढ्दै गएपछि सरकारले त्यसमा केन्द्रित भएर काम गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button