तपाईँ सुन्दै हुनुहुन्छः

सङ्क्रमितसँग बढी भाडा असुल्ने दुई एम्बुलेन्स चालक पक्राउ

बीरगंज । कोभिड १९ सङ्क्रमणको विषम परिस्थितिमा संक्रमितहरुसँग मनपरी रुपमा भाडा असुली गर्ने २ जना एम्बुलेन्स चालकलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।
पर्सा जिल्लामा सञ्चालित एम्बुलेन्स चालकहरूले कोरोना संक्रमित तथा मृतकका आफन्तहरूबाट मनोमानी भाडा असुलेको सूचनाको आधार खटिएको प्रहरीले २ जना एम्बुलेन्स चालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थित नेशनल मेडिकल कलेजको प्राङ्गण बाहिर सडकबाट ना.२.च.३२५६ र ना.३ च.८१९९ नम्बरका २ वटा एम्बुलेन्स सहित  पर्साको बहुदरामाई नगरपालिका वडा नम्बर ९ विश्रामपुर बस्ने ३५ वर्षीय कमरुदिन रायभर र पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर १ निवासी २२ वर्षीय वीरबल मुखियालाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
पक्राउ परेका दुवै जनालाई कालोबजारी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।
यता महामारीको समयमा संक्रमित तथा पीडित परिवारलाई अस्पताल सम्म ल्याउने तथा घर पुर्‍याउने कार्यमा कोही कसैले पनि बढी मूल्य लिएमा तत्काल जिल्ला प्रहरी कार्यालयमा सूचना दिई कालोबजारी नियन्त्रणमा सघाउ पुर्‍याउन जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button