तपाईँ सुन्दै हुनुहुन्छः

दोलखामै अक्सिजन ग्याँस प्लान्ट स्थापनाको तयारी

दोलखा । दोस्रो लहरको कोरोना सङ्क्रमणका बिरामी दैनिक बढ्दै गएपछि अस्पतालमा अक्सिजनको अभाव हुन थालेकोले जिल्लामै अक्सिजन ग्याँस प्लान्ट स्थापना गर्न स्थानीय तहहरूले सक्रियता देखाएका छन् ।

पालिका प्रमुखहरू समेत सहभागी जिल्ला सङ्कट व्यवस्थापन केन्द्र दोलखाको शनिवार सम्पन्न बैठकले सदरमुकामको चरिकोट अस्पतालमा अक्सिजन ग्याँस प्लान्ट स्थापना गर्ने र त्यसको लागि नौ वटै पालिकाले १२–१२ लाख रुपैयाँ साँझ कोषमा जम्मा गर्ने सहमति भएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बताउनु भयो ।

पालिकाहरू बाट आर्थिक सहयोग प्राप्त भएपछि चरिकोट अस्पतालले छोटो प्रक्रियाबाट तत्कालै अक्सिजन ग्याँस प्लान्ट खरिद गरी स्थापना गर्ने समन्वय प्रमुख पाण्डेले बताउनुभयो ।

दोलखाको उत्तरी भेगमा पर्ने कालिन्चोक, विगु र गौरीशङ्कर गाउँपालिकाले स्वास्थ्य जनशक्ति र स्वास्थ्य सामग्रीहरु उपलब्ध गराई सिंगटीमा संयुक्त आइसोलेसन केन्द्र सञ्चालन गर्ने र त्यसको लागि तीन वटै पालिकाका प्रमुख रहने गरी समिति गठन गर्ने निर्णय समेत जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले गरेको छ ।

बैठकले काठमाडौँ लगायत अन्य जिल्लाबाट दोलखा भित्रिएका नागरिकलाई होम आइसोलेसनमा बस्ने व्यवस्था गरिएकोमा अब अनिवार्य रुपमा सामुदायिक आइसोलेसनमै बस्नुपर्ने र त्यसको व्यवस्थापन सम्बन्धित पालिकाहरूले गर्ने निर्णय गरेको छ । बाहिरी जिल्लाबाट आएका कोही नागरिक सामुदायिक आइसोलेसनमा बस्न नमाने प्रहरीले पक्राउ गरी कानुन अनुसार कारवाही गर्ने निर्णय समेत जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले गरेको छ ।

सङ्घीय तथा प्रदेश सांसदहरूको सहयोगमा यस अघि चरिकोट अस्पतालमा पिसिआर प्रयोगशाला स्थापना गरिएको र त्यसले दोलखा लगायत छिमेकी जिल्लाहरूका समेत कोरोना सङ्क्रमणको अवस्था थाहा पाउन स्वाब परीक्षणमा सहज भएको चरिकोट अस्पतालले जनाएको छ ।

पिसिआर प्रयोगशालामा काम गरिरहेको माईक्रोबायोलोजिस्ट नसाना सुवाल, ल्याब टेक्निसियन सञ्जु थामी र बिएमएलटी रमिता श्रेष्ठले उत्कृष्ट काम गरिरहेको चरिकोट अस्पतालका प्रमुख एमडिजिपि डाक्टर विनोद दंगालले बताउनुभयो । उनीहरूको सक्रियतामा पिसिआर प्रयोगशालामा एक हप्तामा एक हजारको स्वाब परिक्षण सम्भव भएको पनि डाक्टर दंगालले बताउनु भयो ।

अस्पतालमा जिल्लाको सबै पालिकाबाट कोरोना संक्रमित बिरामी आउने गरेको र अस्पतालले कोरोना संक्रमित तथा संक्रमित नभएका बिरामीहरूलाई समेत उचित व्यवस्थापन सहित उत्कृष्ट सेवा दिँदै आएको डाक्टर दंगालको भनाई छ । तत्कालै अस्पतालमा अक्सिजन ग्याँस प्लान्ट स्थापना गर्न सकिए कोरोना सङ्क्रमितहरूको उपचारमा थप सहयोग पुग्ने डाक्टर दंगाल बताउनुहुन्छ ।

अहिले जिल्लामा अक्सिजनको अभाव हुन नदिन जिल्ला प्रशासन, जिल्ला प्रहरी, च्छो रोल्पा जनरल अस्पताल लगायतको सक्रियतामा अक्सिजन सिलिन्डर जम्मा गरेर चरिकोट अस्पतालमा उपलब्ध गराउँदै आएको छ । तर अक्सिजन भर्न काठमाडौँ लगायतका ठाउँमा रहेको ग्याँस प्लान्टमा पठाउँदा चार–पाँच दिनमा पनि पालो नआउने भएकोले समस्या देखिएको सरोकारवालाहरूको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button