तपाईँ सुन्दै हुनुहुन्छः

नुवाकोटका सङ्क्रमित युवाको मृत्यु

त्रिशूली।कोरोना सङ्क्रमित नुवाकोटका एक युवाको उपचारका क्रममा त्रिशूली अस्पताल नुवाकोटमा आज बिहान मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएसँगै शनिबार बिहान ४ बजे भर्ना भएका किस्पाङ गाउँपालिका–५ अर्चलेका ३३ वर्षका युवाको निधन भएको हो । अस्पतालको आइसोलेसन कक्षमा उपचाररत उनको अवस्था गम्भीर हुँदै गए पनि अस्पतालमा रहेको आइसियु शय्या खाली नहुँदा बचाउन नसकिएको अस्पतालका प्रमुख डा दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

उहाँको अनुसार त्रिशूली अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको चाप बढेसँगै शय्याको अभाव देखिएको छ । अस्पतालमा रहेको छ शय्याको आइसियु, चार शय्याको एचडीयूसहित तीन वटा भेन्टिलेटरमा बिरामी भर्ना गरिएको कारण शय्या पाउन समस्या छ ।

ज्यान गुमाएका युवाको बाबुआमासहित परिवारका अन्य पाँच जनालाई पनि कोरोना सङ्क्रमित भएर स्वास्थ्यकर्मीको निगरानीमा राखिएको किस्पाङ गाउँपालिकाको अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो । यस अस्पतालमा आजको यस घटनासहित पछिल्लो चार दिनमा दैनिक एक जना सङ्क्रमितले ज्यान गुमाउँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button