तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाका बिरामी बोक्ने गाडीमा तोडफोड

म्याग्दी । शनिवार राती कोरोना सङ्क्रमित बिरामीलाई यातायात सेवा दिन प्रयोग गरिएको मंगला गाउँपालिकाको गाडी तोडफोड भएको छ ।

मंगला गाउँपालिका कै एक कोरोना संक्रमित बिरामीको स्वाथ्य अवस्थामा समस्या भए पछि सदरमुकाम बेनी स्थित बेनी अस्पतालमा पुर्‍याएर मंगला गाउँपालिकाको कार्यालयमा फर्किँदै गरेका ग १ झ ४१६ नम्बरको गाउँपालिकाको गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख तथा प्रहरी नायव उपरीक्षक श्याम कुमार राईले बताउनु भयो ।

गाउँपालिकाका चालक रामु गिरी र मंगला गाउँपालिकाका स्वाथ्य संयोजक लेखनाथ रोका बिरामीलाई बेनी अस्पतालमा पुर्‍याएर  फर्किँदै गरेको गाडीलाई मंगला गाउँपालिका २ सिमचौरमा सोही स्थानका स्थानीय बासिन्दा ३५ वर्षीय रमेश बानियाँ र २६ वर्षीय जिवन बानियाँले आक्रमण गरी तोडफोड गरेको प्रनाउ राईले बताउनु भयो ।

उनीहरूले गाडी माथि आक्रमण गर्नुका साथै चालक गिरी माथि समेत आक्रमण गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहित कर्मचारीले प्रयोग गर्ने गरेको उक्त गाडी पालिका भित्र कोरोना महामारीका बिरामी बोक्न अस्थायी एम्बुलेन्सका रुपमा सञ्चालनमा ल्याइएको थियो ।

गाडी तोडफोड गर्ने दुवै जनालाई नियन्त्रणमा लिई घटना माथि थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button