तपाईँ सुन्दै हुनुहुन्छः

व्यास नगरपालिकामा ५० बेडको आइसोलेसन केन्द्र तयार, अक्सिजनसहित डाक्टरको व्यवस्था

तनहुँ । तनहुँको व्यास नगरपालिकाले बनाएको आइसोलेसन तयार भएको छ । नगरपालिकाले कोरोना सङ्क्रमितलाई कृषि विकास बैङ्कको पुरानो भवनमा राखिने सामुदायिक आइसोलेसन केन्द्रको तयारी पूर्ण भएको जनाएको छ ।

उक्त आइसोलेसनमा ५० बेड क्षमता रहेको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतिले जानकारी दिनुभयो। उहाँले भन्नुभयो ’लगभग सबै काम सकियो, अब पानीको व्यवस्थापन मिलेपछि आइतबारदेखि सङ्क्रमितलाई राख्छौ ।’

उक्त आइसोलेसनमा एक जना डाक्टर, दुई जना स्वास्थ्यकर्मी, सुरक्षा गार्ड समेत हुनेछ । उक्त आइसोलेसनमा २५ सिलिन्डर अक्सिजन समेत व्यवस्थापन गरिएको सोतीले बताउनुभयो । उहाँले थप्नुभयो ’आवश्यक सम्पुर्ण औषधीको समेत व्यवस्था गरेका छौ ।’

त्यस्तै पीसीआरको दायरा समेत बढाउने र संक्रमित विपन्न र मजदुरको उपचारमा सहयोग पुर्‍याउने विषयमा छलफल गरी आवश्यक प्रबन्ध मिलाउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

पछिल्लो समय जोखिम बढ्दै गएकाले कोभिड सङ्क्रमितको सहजताका लागि कृषि विकास बैङ्कको भवनमा अक्सिजन सिलिण्डरसहितको आइसोलेसन तयार पारिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।

आइसोलेसन तयार भएपछि सङ्क्रमितको उपचारमा सहज हुने उहाँले बताउनुभयो । आइसोलेसनको अभावले जटिल अवस्था र विपन्न वर्गका सङ्क्रमितलाई राहत पुग्ने न्यौपानेले जानकारी दिनुभयो ।

शनिबार बसेको व्यास नगरपालिकाको कोभिड–१९ नियन्त्रण सम्बन्धी समीक्षा बैठकले उक्त निर्णय नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।

व्यास नगरपालिकामा शनिवार सम्म सक्रिय कोरोना संक्रमित १७९ जना रहेको छ । जसमा ८० जना महिला र ९९ जना पुरुष रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

यस्तै जिल्लामा ४६१ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । जसमा २१० महिला र २५१ पुरुष रहेका छन् । ३६ जना कोरोना सङ्क्रमितको अहिलेसम्म मृत्यु भएको छ । जसमा १३ जना महिला र २३ जना पुरुष रहेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button