तपाईँ सुन्दै हुनुहुन्छः

घरदैलोमा पुगी नागरिकको स्वास्थ्य अवस्था बुझ्दै जनप्रतिनिधि

सल्यान । भेरियन्ट सहितको दोस्रो चरणको कोभिड १९ तिव्रतर रुपमा फैलिन थालेपछि सल्यान दार्माका जनप्रतिनिधि घर घरमा पुगी नागरिकको स्वास्थ्य अवस्थाका विषयमा निगरानी बढाएका छन् ।
दोस्रो चरणको कोरोनाले जनजीवन प्रभावित तुल्याएपछि होम आइसोलेसनमा रहेका नागरिक र अन्यको नागरिकहरूको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यकर्मी सहितको टोली लिएर जनप्रतिनिधि घरदैलोमा पुगेका हुन ।
जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलीले प्रत्येक नागरिकको घर घरमा पुगेर स्वास्थ्य सल्लाहसँगै स्वास्थ्य परीक्षण गरिरहेको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले जानकारी दिनुभयो ।
गाउँपालिकाको काफलगैरा, अधेरी खोला, बडाचौर, सर्सुखोला, धुरखर्क, ओजावाङ लगायतका बस्तीमा पुगेर फिबर, अक्सिजनको मात्रा चेक गर्दै आइरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो,  ‘कोरोना पोजेटिभ देखिएर होम आइसोलेसनमा बसेका र अन्य सबै नागरिकको घरदैलोमा पुगेर स्वास्थ्य चेकजाँच गर्नुका साथै परामर्श दिने काम गर्दै आइरहेका छौँ ।’
कोरोनाबाट आतङ्कित, भयवित हुनेभन्दा पनि सजगता र सतर्कता अपनाउन आग्रह गर्दै आइरहेको केसीको भनाई छ ।
गाउँघरमा कोरोनालेको बारेमा हेलचेक्रराई नहोस् भनी जनप्रतिनिधिहरुले जोखिम मोलेर भए पनि घर घरमा सचेतना दिँदै हिँडेको अध्यक्ष केसीले बताउनुभयो ।
कोरोना सङ्क्रमितलाई कुनै समस्या भएमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आइरहेको दुई गाडी र एक एम्बुलेन्स समेत तयारी अवस्थामा राखिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा दोस्रो चरणको कोरोनाबाट ३५ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित मध्ये ४ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने बाँकी सबै होम आइसोलेसनमा बस्दै आइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button