तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीबाट अक्सिजन अन्य जिल्लामा पठाउन सुरु

सुनसरी । कोरोना भाइरसका कारण धेरै ठाउँमा अक्सिजन अभाव भइरहेको मध्यनजर गर्दै सुनसरीमा आवश्यक राखेर अन्य जिल्लामा अक्सिजन पठाउन सुरु गरिएको छ ।
विपतका बेलामा सहयोग गर्नुपर्ने भएकाले सुनसरीबाट अन्य प्रदेशहरूमा अक्सिजन पठाउने कार्य सुरु गरिएको छ ।
सुनसरीको ३ वटा अक्सिजन उद्योग र मोरङ जिल्ला २ वटासहित पाँच वटा अक्सिजन उत्पादक कम्पनीले हालसम्म प्रदेश १ का विभिन्न जिल्लासँगै प्रदेशबाहिर काठमाडौँ लगायतका झन्डै दर्जन बढी जिल्लाहरूमा अक्सिजन पठाउँदै आएका छन् ।
सुनसरीको इटहरी उपमहानगरपालिका स्थित खनारमा दुर्गा, दुहबी नगरपालिका स्थित सोनापुरमा विनायक र पाथीभरा प्लान्टले अक्सिजन उत्पादन गर्छन् । मोरङमा हिमाल अक्सिजन ग्यास प्लान्ट र मारूती अक्सिजन ग्यास प्लान्टले उत्पादन गर्छन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी  महेशकुमार पोखरेलले सुनसरीबाट काठमाडौँमा २ सय ४० सिलिन्डर, रुपन्देही १ सय २० सिलिन्डर, जनकपुर २ सय सिलिन्डर, मकवानपुर १ सय ५० सिलिन्डर, दाङमा १ सय ५० सिलिन्डर पठाइसकेको बताउनुभयो । उहाँले सप्तरीमा १ सय वटा पठाउने तयारी भएको बताउनुभयो ।
सुनसरीका विनायकसँग ३५ सय, दुर्गासँग २५ सय, पाथीभरासँग ७ सय गरी ६ हजार ७ सय वटा सिलिन्डर रहेको सूचना अधिकारी पोखरेलले बताउनुभयो । प्रदेश १ मा असर नपर्ने गरी प्रदेश बाहिरका जिल्लामा थप पठाउने तयारी गरिएको पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button