तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जमा थप ११ जना कोरोना सङ्क्रमितको मृत्यु

file photo

बीरगंज । वीरगन्जमा उपचारको क्रममा थप ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । वीरगन्जको नारायणी अस्पतालमा ९ जना, बीरगंज हेल्थ केयरमा १ जना र नारायणी बयोधा अस्पतालमा १ जना गरी ११ जनाको मृत्यु भएको छ ।

बीरगंज स्थित नारायणी अस्पतालमा आज दिउसो १.१५ वीरगन्ज महानगरपालिका वडा न १३ निवासी ५० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ । वैशाख ३१ गते स्वास्थ्यमा समस्या भई अस्पताल भर्ना भएकी उनको सोही दिन कोरोना संक्रमण पुष्टि भएको र आज उच्च निमोनियाको कारण मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।

बीरगंज स्थित नारायणी अस्पतालमा आज दिउसो १२.५० बजे बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ निवासी ३३ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । वैशाख २९ गते संक्रमित भई नारायणी अस्पतालमा भर्ना भएका पुरुषको उच्च निमोनियाको कारण मृत्यु भएको डाक्टर दासले जानकारी दिनुभयो ।

यसैगरी नारायणी अस्पतालमै आज ११.३० बजे बाराको छातापिपरा गाउँपालिका वडा नम्बर ९ निवासी ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । वैशाख २४ गते पिसीआर परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएका पुरुष होम आईशोलेशनमा बसेको र श्वास प्रश्वासमा समस्या भएपछि गत वैशाख २८ गते नारायणी अस्पतालमा भर्ना भएको र आज दिउसो उपचारको क्रममा मृत्यु भएको डाक्टर दासले बताउनुभयो ।

यसैगरी वीरगन्जको नारायणी अस्पतालमा बीरगंज महानगरपालिका वडा नम्बर १६ मिथिला नगर निवासी ४४ वर्षीय पुरुषको आज बिहान ८.४५ बजे उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासले जानकारी दिनुभयो ।

वैशाख १५ गते नारायणी अस्पताल भर्ना भई उपचार गराउने क्रममा पिसीआर रिपोर्ट पोजेटिभ आएको र उपचारकै क्रममा उच्च निमोनियाको कारण श्वास प्रश्वासमा समस्या भएपछि पुरुषको आज बिहान मृत्यु भएको डाक्टर दासले बताउनुभयो ।

यसैगरी नारायणी अस्पतालमा आज बिहान ५.३० बजे सर्लाही जिल्ला फरहतवा वडा नम्बर ४  निवासी ४७ बर्षिया महिलाको उपचारको क्रममा मृत्यु भएको  छ ।  वैशाख २१ गते अस्पतालमा भर्ना भएकी महिलाको एन्टिजिन रिपोर्ट पोजेटिभ आएको र उपचारकै क्रममा आज मृत्यु भएको डाक्टर दासले बताउनुभयो ।

यसैगरी बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २५ शिसहनीया निवासी ३८ बर्षिया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । कोरोना संक्रमित भई वैशाख २५ गते अस्पताल भर्ना भएकी महिलाको उच्च निमोनियाको कारण मृत्यु भएको डाक्टर दासले बताउनुभयो ।

यसैगरी बाराको सुवर्ण गाउँपालिका वडा नम्बर २ निवासी ६० वर्षीय पुरुषको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ । गत वैशाख ३० गते नारायणी अस्पतालमा भर्ना भएका पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको दासले बताउनुभयो ।

यसैगरी बाराकै प्रसौनी गाउँपालिका वडा नम्बर ५ निवासी ४६ वर्षीय पुरुष र बाराकै निजगढ नगरपालिका वडा नम्बर ७ निवासी ४३ वर्षीय पुरुषको गए राति उपचारको क्रममा निधन भएको डाक्टर दासले बताउनुभयो । दुबैजनाको उच्च निमोनियाको कारण भेन्टिलेटरमा राखेर उपचार गराउँदा समेत बचाउन नसकिएको डाक्टर दासले बताउनुभयो ।

यता वीरगन्जको नारायणी बयोधा अस्पतालमा आज बिहान उपचारको क्रममा बीरगंज महानगरपालिका वडा नम्बर १ छपकैया निवासी ६४ वर्षीय पुरुषको उपचारको क्रममा निधन भएको छ । बयोधा अस्पतालको आइसोलेसन वार्डमा वैशाख १६ गते देखी उपचारकालागी भर्ना भएका पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत विष्णु पटेलले जानकारी दिनुभयो ।

यसैगरी बीरगंज हेल्थ केयरमा आज बिहान उपचारको क्रममा बीरगंज महानगरपालिका वडा नम्बर १० निवासी ६८ बर्षिया महिलाको मृत्यु भएको छ । वैशाख २७ गते कोरोना संक्रमित भई अस्पतालमा भर्ना भएकी महिलाको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोरोना सम्पर्क व्यक्ति एवं प्रशासकीय अधिकृत विनय श्रीबास्तबले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button