तपाईँ सुन्दै हुनुहुन्छः

जिपी कोइराला अस्पतालमा भेन्टिलेटर, आइसियु बेड र अक्सिजन प्लान्ट निर्माणका लागि ९ करोड बजेट

तनहुँ । अर्थ मन्त्रालयले तनहुँमा भेन्टिलेटर, आइसियु बेड र अक्सिजन प्लान्ट निर्माणका लागि बजेट विनियोजन गरेको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतरास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा भेन्टिलेटर, आइसियु बेड र अक्सिजन प्लान्ट निर्माणका लागि ९ करोड विनियोजन भएको छ ।
अस्पतालमा ५ वटा भेन्टिलेटर, १० वटा आइसियु बेड जडान र अक्सिजन प्लान्ट जडान गरिनेछ । भेन्टिलेटर, आइसियु बेडका लागि ६ करोड र अक्सिजन प्लान्ट निर्माणका र अक्सिजन उत्पादन पूर्वाधारका लागि ३ करोड बजेट विनियोजन गरिएको हो ।
अस्पतालमा तत्कालै निर्माण कार्य सुरु गर्नका लागि प्रमुख जिल्ला अधिकारीलाई बैठक बसी कार्य सुरु गर्न भनिसकिएको प्रतिनिधि सभाका सदस्य कृष्णकुमार श्रेष्ठ(किसान) ले जानकारी दिनुभयो ।
तनहुँबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य केदार सिग्देल र कृष्णकुमार श्रेष्ठ (किसान) तथा राष्ट्रियसभाका सदस्य भगवती न्यौपानेले केही दिन अघि सङ्क्रमणको दर बढ्दै जाँदा तनहुँमा सुविधा सम्पन्न अस्पतालको आवश्यकता महसुस गरी बजेट माग गर्नु भएको थियो ।
स्वास्थ्य मन्त्रालयबाट कोभिड–१९ को व्यवस्थापनको लागि केन्द्रीय निकाय तथा प्रदेश मातहतमा रहेका अस्पतालका लागि बजेट माग भएकोमा अर्थ मन्त्रालयले आइतबार विभिन्न २६ अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, आइसियु बेड र अक्सिजन प्लान्ट निर्माणका लागि रु २ अर्ब ९५ करोड २० लाख बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button