तपाईँ सुन्दै हुनुहुन्छः

सीमावर्ती बजार नाग्ममा हेल्थ डेस्क स्थापना 

जुम्ला  । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि तीन जिल्लाको सीमावर्ती क्षेत्र नाग्म बजारमा हेल्थ डेस्क स्थापना गरिएको छ ।
कालिकोट, जुम्ला र मुगुको सीमावर्ती क्षेत्र नाग्म बजारमा जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले बाहिरबाट आउने हरेक नागरिकको स्वास्थ्य जाँचका लागि हेल्थ डेस्क स्थापना हो ।
कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको टोली आइतबार नाग्म बजार पुगेर हेल्थ डेस्कको अनुगमन तथा निरीक्षण  समेत गरेको छ ।
जिल्लामा कडा लकडाउन गरे पनि निर्बाध रुपमा गाडी आइरहेको बिना चेकजाँच गाउँ गाउँमा नागरिक जान थालेपछि सीमा क्षेत्रमा हेल्थ डेस्क अत्यावश्यक रहेकोले स्थापना गरिएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले बताउनुभयो ।
जुम्लाका आठै स्थानीय तहले हेल्थ डेस्क स्थापना त गरेका छन् । तर त्यति प्रभावकारी देखिएको छैनन् । स्वास्थ्य प्रमुख सापकोटाले भन्नुभयो, “अब जुम्ला भित्रिने हरेक नागरिकको तथ्याङ्क राखिनेछ । स्वास्थ्य जाँच गरिनेछ । शङ्कास्पद व्यक्ति भेटिएको खण्डमा एन्टीजेन विधिबाट स्वास्थ्य परीक्षण समेत गर्ने व्यवस्था गरिएको छ ।”
नाग्म बजारको सञ्चालन गरिएको हेल्थ डेस्क स्थापनासँगै जुम्ला, सिंजा क्षेत्र तथा मुगु जाने नागरिक शङ्कास्पद हुन वा ठिक छन् भन्ने कुरा अगाडी नै जानकारी हुने भएको छ ।
सीमा नाकामै जाँच गरेर पोजेटिभ देखिएको खण्डमा सम्बन्धित स्थानीय तहको आइसोलेसनमा पठाइने प्रमुख सापकोटाको भनाई छ ।
हेल्थ डेस्कमा नियमित दुई जना स्वास्थ्यकर्मी, नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी  खटिनेछन् ।
अहिले सुर्खेत, नेपालगन्ज हुँदै जुम्ला आउने क्रम बढ्दो छ । यसले कोरोना सङ्क्रमणको उच्च जोखिम हुने खतरा छ ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले अब सिमानामा प्रवेश गर्ने बित्तिकै कडा रुपमा निगरानी हुने र अटेरी गरे कारबाही गरिने बताउनुभयो ।
प्रजिअ थापाले गाउँमा कोरोना सङ्क्रमण रोक्न सीमा नाकामा कडाइ गर्न जरुरी रहेको भन्दै स्थानीय तहको अगुवाइमा सीमा नाकाको उच्च निगरानीको लागि हेल्थ डेस्कले स्थापना गरिएको बताउनुभयो ।
अब स्वदेश तथा विदेशबाट फर्किएका जुम्लावासीको यकिन तथ्याङ्क सङ्कलन गरेर निगरानी गर्न सहज हुने उहाँको भनाई छ ।
प्रतिष्ठानमा अनुगमन
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको नेतृत्वमा रहेको गणपति, बाहिनी पती, डिएसपी सहितको टोलीले निषेधाज्ञाको अवस्थासँगै नाग्म बजारको हेल्थ डेस्क र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अक्सिजन प्लान्टको अनुगमन गरेको छ  ।
आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको स्वास्थ्य सेवाका बारेमा अनुगमन गरेको छ । टोलीले प्रतिष्ठानमा जडित अक्सिजन प्लान्टको पनि अनुगमन गरेर जानकारी लिइएको हो ।
अहिले प्रतिष्ठानको अक्सिजन प्लान्टले २४ घण्टामा ८ सिलिण्डर भर्दै आइराखेको छ । प्लान्टबाट १ सय ५० बेडमा अक्सिजन जोडिएको छ ।
प्रतिष्ठानका प्रशासकीय अधिकृत द्धन्द्धबहादुर शाहीले अक्सिजन प्लान्टका २४ घण्टामा ९६ सिलिण्डर भर्ने क्षमता हो । तर बुस्टर कम क्षमताको भएकोले अक्सिजन उत्पादन हुन नसकेको बताउनुभयो ।
अनुगमन टोलीले अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादनका लागि बुस्टर खरिद गर्न आग्रह गरेको छ ।
बुस्टर खरिद प्रक्रिया रहे पनि उत्पादन क्षमता कम भएकोले तत्काल क्षमता बढाउन समेत आग्रह गरिएको बाहिनी पती याम सापकोटाले बताउनुभयो ।
साथै कर्णाली प्रतिष्ठानमा अहिले आइसोलेसन १ सय २० बेड, आइसियु १५, भेन्टिलेटर १२ वटा तयारी अवस्थामा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button