तपाईँ सुन्दै हुनुहुन्छः

अरब सागरको चक्रवातबाट मौसममा बदली

काठमाडौँ । हाल पूर्वी मध्य अरब सागरमा रहेको शक्तिशाली चक्र वात ताउकतेका कारण मङ्गलवारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना  छ ।
चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे तापनि अप्रत्यक्ष असर देखिने मौसम जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जनाएको छ । चक्र वात अझ विकसित हुने क्रममा रहेको र हाल उत्तर–उत्तर पश्चिमतिर बढ्ने क्रममा छ ।
बुधवार बेलुकादेखि शुक्रवारसम्म कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
नेपालमा चक्रवातको अप्रत्यक्ष प्रभाव मात्र रहने तथा ठुलो वर्षा र हावाहुरीको सम्भावना नरहेको महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । चक्रवातको प्रभाव शुक्रवारसम्म रहने बताइएको छ ।
मुलुकभर यस याममा प्रतिमनसुनको गतिविधिका कारण मेघ गर्जन/चट्याङ /हावाहुरी र असिना पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाले यस अवधिमा उच्च हिमाली भूभागमा पर्वतारोहण नगर्न तथा नगराउनसमेत अनुरोध गर्दै चक्रवातलाई निरन्तर अनुगमन गरिएकाले मौसम अद्यावधिक गरिरहन सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button