तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा निषेधाज्ञा कडा, बैँक तथा वित्तिय संस्था पूर्ण रुपमा बन्द

पर्वत । पर्वतमा जारी निषेधाज्ञालाई कडाई गरिएको छ ।

जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकको सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई कडाई गरेको हो ।

कोरोना संक्रमण समूदायमा झाँगिदै गएको र मृतकको संख्या बढेको अवस्थामा निषेधाज्ञा कडाई गर्नुपर्ने नागरिक स्तरबाटै दबाब बढ्दै गएको थियो ।

समितिको निर्णय अनुसार आजदेखि निषेधाज्ञा अवधिमा बैँक तथा वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द गरिएको छ । अहिलेसम्म पालैपालो गरेर बैँकहरु खुल्दै आएका थिए । बैँकहरुमा पालैपालो खुल्न दिँदा झन भीड बढेको थियो । त्यसैले बैँकहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको हो ।

यसैगरी जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक खाद्यन्न तथा फलफुलका पसलहरु पनि दिनको ३ घण्टा मात्रै सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

दैनिक रुपमा विहान ७ बजेदेखि विहान १० बजेसम्म मात्र अत्यावश्यक सेवाका पसलहरु खुल्नेछन् । यसअघि बेलुका ५ बजेदेखि ७ बजेसम्म पनि पसल खोल्न दिईएको थियो ।

यसैगरी प्रशासन कार्यालयले ब्यक्तिगत निर्माण कार्य पनि बन्द गर्ने निर्णय गरेको छ ।

व्यक्तिगत घर निर्माण, ढलान, जग्गा सम्माउने, पर्खाल लगाउने, पहिरो उकास्ने जस्ता कुनैपनि कार्य नगर्न अनुरोध गरिएको छ । प्रशासनले यस्ता व्याक्तिगत कामहरु तुरुन्त रोक्न निर्देशन दिएको छ ।

यसैगरी प्रशासन कार्यालयले निर्माण क्षेत्र अन्तर्गत राष्ट्रिय गौरबका आयोजना तथा संघ र प्रदेशबाट सञ्चाललित आयोजनाहरुमा भने स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर तथा जलविद्युत आयोजनाहरुको काम निरन्तर रुपमा चल्ने बताईएको छ ।

स्थिति खराब हुन नदिन व्यक्तिगत सरसफाई, मास्कको प्रयोग, भौतिक दुरी कायम लगायतका स्वास्थ्य मापदण्डहरुको पूर्ण पालना गर्न जिल्ला प्रशासन कार्यालयले सबैमा अनुरोध समेत गरेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button