तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमितलाई औषधी वितरण

सप्तरी । कोरोना भाइरसको संक्रमण दर बढ्दै जाँदा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले कोरोना संक्रमित व्यक्तिहरूलाई औषधी वितरण थालेको छ ।
तिलाठी कोइलाडी गाउँपालिकाले कोरोना पोजेटिभ व्यक्तिको घरमा स्वास्थ्यकर्मीमार्फत औषधी वितरण सुरु गरेको हो ।
वडा नं. १ तिलाठीबाट आइतबारदेखि गाउँपालिकाको कोभिड–१९ सम्पर्क व्यक्ति जनस्वास्थ्य अधिकृत भूपेन्द्र झा र जनस्वास्थ्य निरीक्षक दिपक मण्डलले औषधी वितरण सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झाले जानकारी दिनुभयो ।
जिल्लामा कोरोना सङ्क्रमितको चेन तोड्न जिल्ला प्रशासन कार्यालय सप्तरीले निषेधाज्ञा लगाएको कारण संक्रमितहरु आवश्यक औषधी खरिद गर्न नसक्ने कुरालाई ध्यानमा राखी संक्रमित व्यक्तिको घरदैलोमै औषधी पुर्‍याउने अभियान थालिएको गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले बताउनुभयो ।
संक्रमित व्यक्तिलाई निको हुन चिकित्सकको परामर्शमा आवश्यक औषधीहरूको किट वितरण थालिएको अध्यक्ष सिंहले बताउनुभयो ।
सप्तरीमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा तिलाठी कोइलाडी गाउँपालिकामा समेत सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दो रहेको छ ।
दोस्रो लहरमा एन्टीजेन जाँचबाट ७ जनासहित जम्मा ४६ जना संक्रमित देखिएको छ ।
कूल सङ्क्रमितमध्ये ३७ पुरुष र १० महिलासहित ४७ जना संक्रमित भएको छ भने दुई जना पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button