तपाईँ सुन्दै हुनुहुन्छः

महामारी नियन्त्रणमा थप सहयोग गर्न युएन एजेन्सीका प्रतिनिधिलाई मुख्यमन्त्रीको आग्रह

 

जनकपुरधाम  । प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि थप सहयोग गरिदिन प्रदेश नंं २ स्थित राष्ट्र सङ्घीय निकायका प्रतिनिधिहरूसँग आग्रह गर्नु भएको छ ।

प्रदेश नीति तथा योजना आयोगको संयोजनमा मुख्यमन्त्री निवास मधेस भवनमा आज सम्पन्न राष्ट्र सङ्घीय निकायहरूका प्रतिनिधिहरूसँगको छलफलमा मुख्यमन्त्री राउतले महामारी नियन्त्रणका लागि अति आवश्यक पर्ने भेन्टिलेटर, अक्सिजन ग्यासको आपूर्ति,, अक्सिजन ग्यास प्लान्टको स्थापना, औषधी, जनशक्ति र भ्याक्सिन उपलब्ध गराइदिन आग्रह गर्नु भएको छ ।

उहाँले संयुक्त राष्ट्र सङ्घीय निकायहरूले मुलुकलाई गर्दै आएको सहयोग प्रदेशमा खासै रुपमा नपुगेको गुनासो गर्नुहुँदै प्रदेश २ सम्म सहयोग ल्याउनका लागि पहल गर्न पनि आग्रह गर्नुभयो ।

संयुक्त राष्ट्र सङ्घीय निकायहरूले हालसम्म महामारी नियन्त्रणमा गर्दै आएको सहयोगको लागि धन्यवाद दिनुहुँदै मुख्यमन्त्री राउतले अगामी दिनमा मानव सूचकाङ्कको दृष्टिकोणले पछाडि परेको प्रदेश नंं २ मा थप सहयोगको अपेक्षा गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए )का डा.नरेन्द्र कुमार मिश्रको नेतृत्वमा भएको संयुक्त राष्ट्र सङ्घीय निकायहरूका प्रदेश प्रमुखहरूसँगको बैठकमा प्रदेश नंं २ का सामाजिक विकास मन्त्री नवल किशोर साह, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको सहभागिता रहेको थियो ।

त्यस्तै बैठकमा संयुक्त राष्ट्र सङ्घीय अन्य निकाय एवं त्यसका प्रतिनिधिहरूमा संयुक्त राष्ट्रसङ्घीय विकास कोष (युएनडिपी )का धनबहादुर चन्द, युएनडीएसएसका जितेन्द्र जङ्ग कार्की, विश्व स्वास्थ्य सङ्गठन ( डब्लुएचओ )का डा. सुरेशकुमार शुक्ला, आइओएमका पङ्कजलाल सिंह, युनिसेफका अशोक कुमार झा सहभागी हुनुहुन्थ्यो ।

विगत केही दिन यता प्रदेश नंं २ मा कोरोनाको संक्रमण दर उच्च गतिले बढिरहेको बेलामा मुख्यमन्त्री लालबाबु राउतले संयुक्त राष्ट्र सङ्घीय निकायका प्रदेश प्रमुखहरूसँग छलफल गर्नु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button