तपाईँ सुन्दै हुनुहुन्छः

मिर्गौलाका बिरामीलाई नगरपालिकाद्वारा सवारी सुविधा 

तनहुँ ।  तनहुँका शुक्लागण्डकी नगरपालिकाले निषेधाज्ञाको समयमा नियमित डायलेसिस गर्नुपर्ने मिर्गौला रोगीहरूलाई समिति  नै गठन गरेर सहयोग गर्न थालेको छ ।

यहाँ झन्डै ४५ को सङ्ख्यामा रहेका मिर्गौलाको समस्या हुनेहरूलाई डायलेसिस गर्न सहज बनाउने उद्देश्यले सवारीका व्यवस्थासहित सहयोग गरिएको हो ।

नगर कार्यपालिका सदस्य भरत लामगातेको संयोजकत्वमा गठन गरिएको उद्धार समितिले मिर्गौला पीडितहरूलाई दैनिक अस्पताल लैजाने र ल्याउने सुविधा प्रदान गरेको छ ।

संयोजक लामगादेले दैनिक पोखरा र दमौली जानुपर्ने बिरामीहरूको समस्या नगर स्तरबाट नै समाधान भइरहेको जानकारी दिनुभयो ।

उहाँले नगरपालिकाका २० जना बिरामीहरूलाई डायलेसिसको लागि अस्पताल लगिएको बताउनुभयो  ।

नगरपालिका भित्र रहेको मिर्गौला पीडित बिरामीहरूलाई सम्पर्कमा आउन आग्रह समेत उहाँले आग्रह गर्नुभयो ।

समितिले नगरपालिकाका उपमेयर सविता रसाइली चढ्दै आएको गाडीसहित दुई सवारीलाई दैनिक मिर्गौला पीडित बिरामीको उद्धार गर्न प्रयोग गर्दै आएको जनाएको छ ।

निषेधाज्ञाको समयमा अस्पताल पुगेर डायलसिस गर्न असुविधा हुँदा समस्या विकराल बन्ने निष्कर्षसहित नगरले लामगादेको संयोजकत्वमा कार्यपालिका सदस्यहरु गीता महत र कुलबहादुर भुजेल तथा हेल्थ असिस्टेण्ड नवराज गौतम सदस्य रहेको चार सदस्यीय समिति उद्धार समिति गठन गरेको थियो ।

समितिले सम्बन्धित वडा र जनप्रतिनिधीहरुको सहायतामा मिर्गौलाको बिरामीहरूको नामावली सङ्कलन समेत गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button