तपाईँ सुन्दै हुनुहुन्छः

दासढुंगामा एमाले चितवनद्वारा मदन–आश्रित प्रति श्रद्धाञ्जली अर्पण 

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)  चितवनद्वारा आज दासढुंगामा मदन–आश्रित प्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

तत्कालीन नेकपा (एमाले) का महासचिव मदनकुमारी भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २८औ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली व्यक्त गरिएको हो ।

कोरोना कहरका कारण दासढुंगामा औपचारिक कार्यक्रम नभए पनि उहाँहरूप्रति श्रद्धाञ्जली गरिएको नेकपा एमाले चितवनका अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो ।

आज बिहान भरतपुर महानगरपालिका वडा नं.२९ स्थित दासढुंगामा रहेको नेता द्वयको सालिकमा माल्यार्पण गर्नुको साथै एक मिनेट मौन धारण गरी श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

कोभिड कहरका कारण औपचारिक कार्यक्रम गर्न नसकिए पनि नेताहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको नेकपा (एमाले) चितवनका अध्यक्ष रावलले बताउनुभयो ।

उहाँका अनुसार न्यून सङ्ख्यामा पार्टीका नेता तथा जनप्रतिनिधिको उपस्थितिमा श्रद्धाञ्जली व्यक्त गरिएको हो ।

सो अवसरमा नेकपा (एमाले) का केन्द्रीय सदस्य, बागमती प्रदेश सह इन्चार्ज तथा चितवन जिल्ला इन्चार्ज काशीनाथ अधिकारी, केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज कपिल पोख्रेल, बागमती प्रदेश कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, प्रदेश सांसद विजय सुवेदी, जिल्ला अध्यक्ष पार्वती रावल, सचिव प्रकाश खनाल, राप्ती नगर पालिकाकी मेयर प्रभा बराल, एमाले कालिकाका सचिव शुदर्शन अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सह संयोजक शिशिर सिंखडा लगायतको उपस्थिति रहेको थियो ।

यसै गरी मदन भण्डारी फाउण्डेशन चितवनले पनि श्रद्धाञ्जली व्यक्त गरेको छ ।

फाउण्डेशनका वरिष्ठ उपाध्यक्ष शम्भु सुवेदी, प्रदेश कमिटी सदस्य शान्ति अधिकारी, जिल्ला सहसचिव तिलक रिमाल लगायतको उपस्थितिमा नेता द्वयको सालिकमा माल्यार्पण गर्नुका साथै एक मिनेट मौन धारण गरिएको थियो ।

बि.सं. २०५० साल जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेता द्वय सवार जीप दासढुंगामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

आश्रितको शव दासढुंगास्थित त्रिशूली नदीमा फेला परेको थियो भने भण्डारीको शव जिल्लाकै गाजीपुरस्थित नारायणी नदीमा तीन दिनपछि फेला परेको थियो ।

फाउण्डेशन चितवनले दासढुंगा र गाँजीपुरको विकासका लागि पहल गर्दै आएको छ ।

यी दुवै ठाउँलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न विभिन्न निर्माणका काम भइरहेका छन् । यी दुवै ठाउँमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी चरणबद्ध रुपमा विकासका काम हुँदै आएको फाउण्डेशनका अध्यक्ष डा.तिलचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button