तपाईँ सुन्दै हुनुहुन्छः

निषेधाज्ञाले दूध थन्किँदा मर्कामा भैँसीपालक किसान 

जुम्ला । दोस्रो लहरको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण दूध विक्री नभएपछि जुम्ली किसान मर्कामा परेका छन् ।
संक्रमण दर दैनिक बढ्दै गएपछि औषधी पसल बाहेक सबै सेवा बन्द हुने गरी निषेधाज्ञा जारी भएपछि घरमै दूध थन्किँदा किसान मर्कामा परेका हुन् ।
गुठिचौर गाउँपालिका ५ का भैँसीपालक किसान विष्णु धिताल घरमा निषेधाज्ञाले दैनिक ४० लिटर दूध थन्किएपछि घाटा बेहोर्नुपरेको बताउँछन् । जुम्लामा कडा निषेधाज्ञा जारी भएसँगै दूध विक्री नहुँदा समस्या भएको उहाँको भनाई छ । बिहानै ६ बजेर मोटरसाइकलमा बजारका गल्लीमा दूध बचेर वार्षिक लाखौँ कमाउने गर्थे किसान धिताल ।
सरकारी जागिर त्यागेर २०६२ सालदेखि भैँसीपालनमा होमिएका किसान धिताल दूध बेचेरै महिनामा २५–३० हजार कमाउँछन् । दैनिक ४० लिटर दूध ल्याएर बजारमा बिक्री गर्ने उनको व्यापार आजभोलि ठप्प भएको छ । जसका कारण दैनिक ५ देखि ६ हजार बराबरको घाटा भइरहेको उनको भनाइ छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउन दैनिक अनिवार्य दूध खान आवश्यक रहे पनि निषेधाज्ञाले दुख विक्री समेत ठप्प हुँदा उपभोक्तालाई सँगै किसानलाई असर परेको छ । दैनिक घाटा मात्रै बेहोर्नु पर्दा जुम्लाका भैँसी पालक किसान भैँसीलाई दाना कसरी खुवाउने चिन्तामा किसान छन् ।
स्वास्थ्य मापदण्ड पालना गरी माग गरेका उपभोक्ताका घरमा दूध पुराउने व्यवस्था गरिदिन समेत दुग्ध किसानले प्रशासनलाई माग गरेका छन् ।
दूधबाट घिउ, छुर्पीबाहेक अन्य परिकार बनाउन ज्ञान र साधन नभएको किसानको भनाई छ । ‘न त तालिम पाएका छौ, नत औजार नै छ ।’
दूध बेचेरै घर खर्च, छोराछोरीको पढाई खर्च जुटाइरहेका किसान धितालले आफु जस्तै धेरै किसान दूध थन्किँदा प्रत्यक्ष मारमा परेकाले दूध विक्रीको वातावरण बनाइदिन अपिल गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button