तपाईँ सुन्दै हुनुहुन्छः

उवासंघ जुम्लाद्वारा निःशुल्क कोभिड एम्बुलेन्स सञ्चालन

जुम्ला । दोस्रो लहरको कोभिड सङ्कटलाई रोकथाम तथा नियन्त्रण गर्न स्थानीय तह, प्रहरी प्रशासनसँग हातेमालो गर्दै उद्योग वाणिज्य सङ्घ जुम्लाले निःशुल्क कोभिड एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
भौगोलिक हिसाबले विकट जुम्लाका दुर्गम बस्तीबाट सङ्क्रमितलाई ओपारपोसार गर्न चौबीसै घण्टा उपलब्ध हुने गरी निःशुल्क कोभिड एम्बुलेन्स सञ्चालनमा ल्याएको उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष रज्जवअलि मनिहारले बताउनुभयो ।
कोभिड एम्बुलेन्स सञ्चालनको सम्झौता भने दुई महिनाका लागि भएको छ । तर अहिले निजी गाडीलाई मासिक ९५ हजार खर्च लाग्ने गरी भाडामा लिएको र तत्काल एक महिना सञ्चालन हुने छ । आवश्यकता अनुसार कोभिड अवधिभर उद्योग वाणिज्य सङ्घले निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने अध्यक्ष मनिहारको भनाई छ ।
साथै उद्योग वाणिज्य सङ्घको भवनमा आइसोलेसन बनाउने दिने समेत निर्णय गरिएको छ । कुनै पनि निकायले नागरिकको राहतका लागि उद्योग वाणिज्य सङ्घमा कोभिड अवधिभरका लागि आइसोलेसन बनाउन सक्नेछन् । आइसोलेसन बनाउन निःशुल्क हल पनि उपलब्ध गराइने भएको हो ।
त्यस्तै उद्योग वाणिज्य सङ्घले निःशुल्क संचालनमाा ल्याएको,एम्बुलेन्स सेवाका लागि ०८७ ५२००३८, ९८४८३०५५७९ र ९८५८३२०२५२ फोन नम्बरमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।
निजी क्षेत्रले दिएको साथले दोस्रो लहरको कोभिड रोकथाममा इट्टा थपिएको प्रजिअ भुपेन्द्र थापाले बताउनुभयो । उहाँका अनुसार सबैको साझा प्रयासबाट नै महामारीसँग जुध्न शक्ति मिल्ने भएकोले सहकार्य गर्न जरुरी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button