तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको ऋषिङमा विवाह र भोजभतेर रोकिने, कोरोना सङ्क्रमितको सम्पूर्ण खर्च गाउँपालिकाले बेहोर्ने

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाभित्र विवाह, भोजभतेर केही समयका लागि पूर्ण रोक लगाइने भएको छ । विवाह, भोजभतेरले कोरोना सङ्क्रमण फैलाउन सहयोग पुर्‍याएको निष्कर्ष सहित यस्तो कार्य केही समयका लागि पूर्ण रोक लगाउने निर्णय भएको हो ।

सोमबार गाउँपालिकाले भर्चुअल माध्यमबाट गरेको सर्वपक्षीय बैठकले स्थानीयहरू समेतको सहयोगमा विवाह, भोजभतेर जस्ता भीड हुने कार्य रोक्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले गाउँपालिका प्रवेश गर्ने नाकाहरूमा कडा निगरानी राख्ने र बाह्य जिल्ला वा देशबाट आएका गाउँपालिकावासीहरूलाई १५ दिन क्वारेन्टिनमा राख्ने निर्णय समेत गरेको छ । हालको ५ शय्याको आइसोलेसनका क्षमता वृद्धि गरी २० शय्या पुर्‍याउने र कोभिड बिरामीका लागि गाउँपालिकाको गाडी प्रयोग गरिने भएको छ।

भर्चुअल बैठकमा पूर्व मन्त्री शिवलाल थापा, संविधानसभा सदस्य झुलबहादुर आले, गण्डकी प्रदेश लोकसेवा आयोगका सदस्य कल्पना लम्साल लगायतको सहभागिता थियो । गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले कोभिडबाट जनतालाई सुरक्षित राख्न हर सम्भव सबै उपाय अवलम्बन गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button