तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंज थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु, ९५ जना संक्रमित थपिए

वीरगंज । वीरगंजमा आज थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारार्थ भर्ना भएका २ जना, वीरगंज हेल्थ केयर र भवानी अस्पतालमा १/१ जना मृत्यु भएको छ ।
नारायणी अस्पतालमा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ निवासी ४१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । स्वास्थ्य मा समस्या भएर वैशाख २० गते भर्ना भएका पुरुषमा त्यही दिन एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको र निमोनियाका कारण श्वासप्रश्वासमा समस्या भएर आज बिहान उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले बताउनुभयो ।
यस्तै रौतहट राजपुर नगरपालिका वडा नम्बर वडा नम्बर १ बहुअर्वा निवासी ६० वर्षीय पुरुषको उपचारको क्रममा आज मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएर वैशाख २८ गते भर्ना भएका पुरुषमा सोही दिन एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको र उपचारको क्रममा आज मृत्यु भएको डा. दासले बताउनुभयो ।
यस्तै वीरगंज हेल्थकेयरमा आज बिहान वीरगंज महानगरपालिका वडा न १५ निवासी ५८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । वैशाख २६ गते अस्पताल भर्ना भएका उनको सोही दिन एन्टिजेन रिपोर्ट पोजेटिभ आएको र आज बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति एवं प्रशासकीय अधिकृत बिनय कुमार श्रीवास्तवले जानकारी दिनुभयो ।
यसैबिच वीरगंजको भवानी अस्पतालमा उपचारको क्रममा आज बिहान वीरगंज महानगरपालिका वडा न १५ निवासी ५२ बर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको श्रीवास्तवले बताउनुभयो ।
२ सय ८८ को स्वाब परीक्षणमा ९५ जना संक्रमित
विगत ३ दिन देखि वीरगंजमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ ।
विगतमा सङ्कलित स्वाब परीक्षणको क्रममा ६० देखि ८० प्रतिशत सम्म संक्रमित देखिने गरेकोमा हाल सङ्कलित स्वाब परीक्षणको क्रममा ३० देखि ४० प्रतिशत सम्म सङ्क्रमणको दर देखिएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले बताउनुभयो ।
वीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पीसीआर परीक्षणको क्रममा थप ९५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । २ सय ८८ जनाको पीसीआर परीक्षणको क्रममा ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि हुनेमा ६७ जना पुरुष र २८ जना महिला रहेका छन् । संक्रमित मध्ये ५८ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका २१ जना, रौतहटका ९ जना, सर्लाहीका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको डाक्टर दासले बताउनुभयो ।
सङ्क्रमितको उमेर समूह १४ बर्ष देखी ८३ बर्ष सम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १४ दशमलव ९ देखी ३५ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button