तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकसहित अवैध धानको बिउ जफत 

चितवन । निषेधाज्ञाको मौका छोपी भारतबाट अवैध धानको बिउ नेपाल ल्याइएको छ । नेपालमा बिक्री वितरण गर्न स्वीकृत नभएको गोरखनाथ–५०९ धानको बिउ चितवनबाट जफत गरिएको छ ।
गोप्य सूचनाका आधारमा कृषि ज्ञान केन्द्र चितवनले प्रशासनको सहयोगमा नारायणगढको कमल नगरबाट ३२४ बोरा धानको बिउसहितको ट्रक नियन्त्रणमा लिएको हो । कमल नगरस्थित स्वस्तिका ट्रान्सपोर्ट कम्पनीको शाखामा अनलोड गरिएको ४९ बोरा धानको बिउ पनि जफत गरिएको छ ।
ट्रकमा राखिएको २७५ बोरा धानको बिउलाई ट्रकसहित जफत गरेर जिल्ला प्रशासन कार्यालयमा लगिएको छ । २७५ बोरा रहेको ट्रकमा केही बोरा लोकनाथ धानको पनि बिउ रहेको पाइएकाले गोरखनाथ कति छ भन्ने अनुसन्धान भइरहेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिए । सो धानको बिउ चितवन, बुटवल र दाङका लागि पठाइएको पाइएको उनले बताए ।
बिउ बिजन समितिले सुचीकृत नगरेको धानको बिउ नेपाल भित्र्याउनु गैर कानुनी काम भएकाले जफत गरिएको प्रमुख ढकालले जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button