तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमणबाट पूर्व गाविस अध्यक्ष चौधरीको निधन

सप्तरी । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ५ साविक बकधुवा गाविसका अध्यक्ष मोतिलाल चौधरीको निधन भएको छ ।

चौधरीको ६७ वर्षको उमेरमा उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।

विगत लामो समयदेखि हृदय रोगबाट पीडित चौधरीलाई असहज भएपछि सोमबार साँझ उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

स्थानीय सन्तोष लेखीका अनुसार अध्यक्ष चौधरी मुटु रोगी हुनुहुन्थ्यो । लेखिले भन्नुभयो, ‘स्वास्थ्यमा असहजता देखिएका उहाँलाई गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल राजविराजमा तुरुन्तै लग्यौं  तर उपचार गर्दा गर्दै मङ्गलवार साँझ उहाँको निधन भयो ।’

चौधरीको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । उहाँको शवलाई गाउँदेखि उत्तर चुरे वन क्षेत्रमा अवस्थित कैली खोलामा व्यवस्थापन गरिएको स्थानीयले जनाएका छन् ।

अध्यक्ष चौधरी साविक बक्धुवा गाविसमा नेकपा एमालेबाट २०४८ साल र २०५४ सालको स्थानीय निर्वाचनमा गरी दुई कार्यकाल अध्यक्षमा  निर्वाचित भई कुशलतापूर्वक कार्यभार समाल्नु भएको थियो । बकधुवा गाविसका पहिलो वामपन्थी नेता चौधरी सामाजिक क्षेत्रमा समेत क्रियाशील रहँदै आउनुभएको थियो । चौधरीको श्रीमती, एक छोरा र तीन छोरी छिन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button